नेपाली कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का,असोज ३० गते सम्मका लागि बैठक स्थगित


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्यको कारण देखाउँदै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।‘मेरो स्वास्थ्यको कारणले पार्टीको उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने जिम्मेवारी सुम्पिएको छु,’ देउवाले भने,‘उहाँले पार्टीको हितअनुरूप काम गर्ने आशा लिएको छु।’ यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ । सभापति देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकलाई लिखित सम्बोधन गर्दै देउवाले दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन्। उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गरेका हुन्। देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन्। उनले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन्।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सांघातिक हमलाबाट घाइते भएका सभापति देउवा ३५ दिनपछि सार्वजनिक भएका हुन्। सभापति देउवा मंगलबार केन्द्रीय समिति बैठकका लागि केन्द्रीय कार्यालय सानेपामा पुगेर सार्वजनिक भएका थिए। देउवासँगै पत्नी एवं केन्द्रीय सदस्य डा आरजु राणा देउवा पनि बैठकमा पुगेकी थिईन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।