कास्की प्रशासनले भन्यो : अनुमति लिएर मात्र कार्यक्रम गर्नू


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज २९

जिल्ला प्रशासन कार्यालय कास्कीले कुनै पनि कार्यक्रम गर्नु पूर्व स्वीकृति लिन आग्रह गरेको छ । कास्की प्रशासनले एक सूचना जारी गर्दै कास्की जिल्लाभित्र कुनै पनि सभा, समारोह, प्रदर्शन, परम्परागत तथा व्यावसायिक मेला, जात्रा, कन्सर्ट, सांस्कृतिक कार्यक्रम आदिको आयोजनापूर्व स्थानिय तहको अनिवार्य स्वीकृति लिन आग्रह गरेको हो । नियमपूर्वक लिइएको अनुमतिका आधारमा मात्रै शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन पनि प्रशासनले सचेत गराएको छ । जेनजी आन्दोलनपछि सुरक्षा चुनौतिका कारण प्रशासनले कार्यक्रम गर्न कडाई गर्दै आएको छ ।

प्रशासनले जारी गरेको सूचनामा आयोजकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तर्गत स्थानीयस्तरमा हुने कार्यक्रम सञ्चालनको स्वीकृति÷अनुमति सम्बन्धित स्थानीय तहबाट लिनुपर्ने पर्ने भए पनि त्यस्तो भएको नपाइएको जनाएको छ । जारी सूचनामा भनिएको छ,‘कतिपय कार्यक्रम पूर्वस्वीकृति नलिई र स्थानीय प्रशासनलाई समेत पूर्वजानकारी नदिई सञ्चालन गरिएको पाइएकाले अब आईन्दा अनुमति लिएरमात्र गर्न अनुरोध गरिन्छ ।’

प्रशासनले शान्ति सुरक्षाका लागि निवेदन दिदा आयोजकको नाम र सम्पर्क नम्बर, कार्यक्रम सञ्चालन हुने मिति, स्थान, सुरु हुने तथा समापन हुने समय, सहभागी संख्यासमेत स्पष्ट खुलाउन आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।