एमाले केन्द्रीय कमिटी बैठक जारी,अध्यक्ष ओलीले राजिनामा दिनुपर्छ– गैरे


     एभरेस्ट आवाज    
     असाेज ३१ गते २०८२ मा प्रकाशित




नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक आज पनि जारी छ ।

ललितपुरको जावलाखेलमा जारी बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राखेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एकजनाको महत्वाकांक्षाका लागि सिङ्गो पार्टी कमिटीलाई विनाशतिर लग्न नहुने बताएकी छिन् ।

उनले एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन नमिल्ने बताएकी छन् । तिमल्सेनाले अहिले नेतृत्व सफल भइरहेको हो की असफल भएको भनेर प्रश्नसमेत गरेकी छन्। उनले दुर्गा प्रसाईं जस्ता अराजक मान्छेहरूलाई पार्टीमा प्रवेश गराएर अझै पार्टी विनाशतिर लगिएको उल्लेख गरिन् ।केन्द्रीय सदस्य ठाकुर गैरेले पनि ओलीले अब अध्यक्ष पद छाड्नुपर्ने बताएका छन्। उनले भने, ‘प्रस्तुत प्रस्ताव पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ। कम्युनिस्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकालौँ। हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौँ, हामीसँग ठोस निर्णय थिएन। वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो र वाम(लोकतान्त्रिक सरकार पनि ढल्यो, यस्तो समयमा पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा बुझ्नहुन्न। म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔँ भन्ने अनुरोध गर्दछु।’

अर्का केन्द्रीय सदस्य अरबिन्द सिंहले दुईदुईपटक आफैँले संसद् विघटन गरेकाले अहिले प्रतिनिधि सभा पुनस्स्थापनाको माग गर्दै पार्टी आन्दोलनमा जानु हास्यास्पद हुने मत राखेका छन्। बैठकको दशबुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै उनले चुनाव बहिष्कार गर्दा अर्को भिडन्त निम्तिने चेतावनी पनि दिएका छन्। स्मरणीय छ– एमाले र माओवादी केन्द्र एकता गरेर बनेको तत्कालीन नेकपामा विवाद चर्किएर संसद्‌मा बहुमत गुम्ने अवस्था आएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गराएका थिए। तर सर्वोच्च अदालतले त्यही वर्ष फागुन ११ गते संसद् विघटन असंवैधानिक भएको ठहर गरिदिएको थियो। त्यसपछि पनि ओलीले फेरि २०७८ जेठ ८ गते प्रतिनिधि सभा भंग गराएका थिए। तर पुनः सर्वोच्च अदालतले बदर गरिदिएको थियो।

यस्तै उनले जनआक्रोश सम्बोधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पनि राखेका छन्। यसैगरी उनले पूर्वराष्ट्रपति तथा पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न पनि माग गरेका छन्। यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका छन् । बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् । अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताको भूमिका आदिका बारेमा निर्देशन दिने बताईएको छ ।

यस्तै आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।