,

छिम्केश्वरी–बूढीदेवी महायज्ञमा एकैदिन ३० लाख रुपैंया सङ्कलन


     एभरेस्ट आवाज    
     कार्तिक १० गते २०८२ मा प्रकाशित




तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बूढीदेवी मन्दिरमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा एकै दिन रु ३० लाख दान सङ्कलन भएको छ ।

आँबुखैरेनी–३ हाटबजार परिसरमा सञ्चालित महायज्ञमाआइतबार मात्रै रु ३० लाख दान सङ्कलन भएको आयोजक समितिले जानकारी दिएको छ । छिम्केश्वरी पर्यटन विकास समितिको आयोजना, छिम्केश्वरी मन्दिर संरक्षण समिति र गाउँपालिकाको संरक्षकत्वमा आयोजित महायज्ञमा महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङले रु पाँच लाख एक हजार १ सय १ दान सहयोग गरेको आर्थिक समितिका संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आँबुखैरेनी–३ निवासी अर्णमान श्रेष्ठले रु पाँच लाख ११ हजार, अमृत केसीले रु पाँच लाख पाँच हजार ५ सय ५८ र केशरबहादुर केसीले रु एक लाख ११ हजार १ सय ११ दान गरे । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी बूढीमाई क्षेत्रको विकासका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित सुरु भएको महायज्ञ यही कात्तिक १५ गतेसम्म चल्नेछ । महायज्ञबाट रु १० करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छभने करिब रु ५० लाख खर्च हुने अनुमान छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोख्रेलले कथा वाचन गर्नुभएको छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«े लगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

छिम्केश्वरीमा हाल वार्षिक रुपमा एक लाख पर्यटक आउने गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।