एमाले सचिवालय बैठक शनिबार बस्ने, ११ औँ महाधिवेशनको तयारी थालिने


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०८२ मा प्रकाशित




नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ ।

बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ । ११औँ महाधिवेशनको तयारीका लागि एमालेले सचिवालय बैठक बोलाएको हो । गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशन आगामी मङ्सिर २७ देखि मङ्सिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो ।

पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ । सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट र विधि महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने बताइएको छ ।

सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्ने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।