मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०८२ मा प्रकाशित




अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधा दर्जन स्थानमा पहिरोले क्षति पु¥याएको छ ।

जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भाँसिएर सडकमा जोखिम बढेको छ । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पु¥याएको छ । यद्यपि सुरक्षा नियकायले हाललाई कामचलाउ रुपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ । जोमसोम–कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ । “मुक्तिनाथ–जोमसोम सडकका विभिन्न ठाउँमा पहिरो खस्नेक्रम जारी छ, हामीले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झाने प्रयास गरिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी भुसालले भनृ, “जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारीसाधनलाई माथि जान रोक लगाएका छौँ ।”

प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै माथि जान दिइने बताए। यसैगरी जोमसोम–कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ भने पहिरो गएको स्थानमा एक भारतीय कार फसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

बाढीपहिरोले कागबेनी–छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध भएको छ । ताङ्वे–छुसाङबीचमा पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पु¥याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध छ । वर्षाका कारण सडक अवरुद्ध भएर अलपत्र १७ जना यात्रीहरुलाई बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । वर्षा रोकिएपछि उनीहरुलाई गाउँले बस्ती नजिक ल्याउने योजना रहेको छ ।

अवरुद्ध जोमसोम–कागबेनी सडकको आज बिहान प्रमुख जिल्ला अधिकारी भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालगायतका सुरक्षाकर्मीले अवलोकन गरेका छन् । जोमसोम–कागबेनी भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याउन दुई÷तीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।