कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माबीच समझदारी निर्माणका लागि केही समय आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको हो । एक केन्द्रीय सदस्यका अनुसार, कार्यवाहक सभापतिसँग कुरा नमिलेपछि महामन्त्रीद्वय बैठक हलमै प्रवेश नगरी बाहिरिएका थिए । त्यसपछि कार्यवाहक सभापतिका तर्फबाट सूचना सुनाउँदै बैठक स्थगित भएको हो । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहमतिका लागि थप समय आवश्यक भएकाले समझदारीमै बैठक स्थगित भएको जानकारी दिए ।यस अघिदुई महामन्त्री थापा र शर्माले गल्फुटार पुगेर कार्यवाहक सभापति खड्कासँग करिब ३ घण्टा छलफल गरेका थिए।नियमित महाधिवेशन आगामी पुस १६ गते गर्ने गरी सहमति जुटाउने प्रयास स्वरुप छलफल भएको थियो ।

स्रोतका अनुसार कार्यवाहक सभापति खड्का नियमित महाधिवेशन गर्ने पक्षमा अझै तयार भएका छैनन् ।उनले दुई महामन्त्रीसँगको संवादमा पनि निर्वाचन अगाडि नियमित र विशेष कुनै पनि महाधिवेशन सम्भव नभएको बताएका छन् ।शुक्रबार बिहान संस्थापन इतर पक्षका डा शेखर कोइरालाले पनि पुस १६ गतेबाट नियमित महाधिवेशन गर्ने समयतालिका ठिक रहेको बताएका थिए।

कोइरालासँगको छलफलपछि महामन्त्रीद्वय कार्यवाहक सभापति खड्काको निवासमा गएका हुन्। कोइराला निर्वाचन अगाडि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।