अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०८२ मा प्रकाशित




उत्तरी अफगानिस्तानमा आएको ६दशमलव ३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान प्रान्तमा ३२० जना घाइते भएको बताए । अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफका बासिन्दाहरू आफ्ना घरहरू भूकम्पले ढल्ने डरले सडकमा उत्रिएको एएफपीले जनाएको छ ।

प्रभावित क्षेत्र देखि करिब ४२० किलोमिटर टाढाको राजधानी काबुलका संवाददाताहरूले पनि कम्पन महसुस गरेको बताएका छन् ।पाहाडी अफगानिस्तानमा कमजोर सञ्चार सञ्जाल र पूर्वाधारले उद्धार प्रक्रियामा बाधा पुर्याएकाले अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पुग्न असहज भएको जनाइएको छ । यो तालिबान सरकारका लागि पछिल्लो प्राकृतिक प्रकोप हो, जसले सन् २०२१ मा अफगानिस्तान कब्जा गरेदेखि तीनवटा ठूला घातक भूकम्पहरूको सामना गरेको छ । अगस्टमा, देशको पूर्वमा ६।०–म्याग्निच्युडको भूकम्पले पाहाडी गाउँहरू नष्ट गर्नु का साथै दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो । सन् २०२३ मा इरानी सीमा नजिकैको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नङ्गरहार प्रान्तमा ठुलो भूकम्पले सयौंको ज्यान लिनुका साथै हजारौं घरहरू ध्वस्त पारेको थियो ।

संयुक्त राष्ट्र संघ र सहायता एजेन्सीहरूले अफगानीस्तानमा भोकमरी बढिरहेको चेतावनी दिएका छन् । अफगानिस्तान खडेरी, बैङ्किङ क्षेत्रमा आर्थिक प्रतिबन्ध र छिमेकी इरान र पाकिस्तानबाट लाखौं अफगान नागरिकहरू निरन्तर स्वदेश फर्कका कारणले मानवीय सङ्कटबाट ग्रस्त भएको जनाइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।