सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २०
पोखरामा नेवारी सांस्कृतिक पर्व सक्की मिला (मना) पुन्ही मनाइएको छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको साँझ खाद्य सामग्री सुकाएर मनाईने यो पर्व बुधबार साँझ मनाइएको हो । पोखरामा ७ फरक स्थानमा सामुहिक रुपमा अन्न (खाद्य सामग्री) सुकाएर पर्व मनाइएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार यस वर्ष भीमसेन टोलको भीमसेन मन्दिर, बागबजार, गणेश टोलको गणेश मन्दिर, रामकृष्ण टोलको गोपालजी मन्दिर, बगालेटोलको गणेश मन्दिर, तेर्सापट्टीको गणेश मन्दिर, रानीपौवाको शोभा भगवती र गणेश मन्दिर परिसरमा अन्न सुकाएर पर्व मनाइयो ।

सामुहिक रुपमा मनाईने यो पर्वमा सुकाईने अन्न स्थानिय गुठी तथा नेवार संघसंस्थाहरुले व्यवस्थापन गर्ने गर्दछन् । कात्तिक शुक्ल पूर्णिमाको पूर्ण चन्द्र देखिएपछि नेवारी परिकारहरु सेलरोटी, चिनी रोटी, झिलिङ्गालगायत तथा मकैसहितका विभिन्न प्रकारका गेडागुडीलाई विभिन्न आकार बनाएर खुल्ला आकाश मुनि सुकाईन्छ । साँझ सुकाउन शुरु भएको खाद्य सामग्री मध्यरातसम्मै सुकाईन्छ । सो अवधीमा भजनकिर्तनसमेत गर्ने परम्परा रहेको विम्व कवि रमेश श्रेष्ठले बताए । उनका अनुसार भजनमा पराक्रम र संकट मोचनका प्रतीक हनुमानलाई महत्व दिएर गाईन्छ । तर पछिल्लो समय भजनकिर्तन भने कम हुन थालेको पाईन्छ ।

संस्कृतिकर्मी प्रधानाङ्गका अनुसार आषाढ शुक्ल एकादशी अर्थात तुलसी रोप्ने दिनदेखि तुलसीको विवाह गर्ने हरिसयनी एकादशीसम्म चार महिना विष्णु भगवान समुन्द्रमा सयन गर्न गएपछि विष्णु लोकमा उनको अभाव भएको र सबैले विष्णुलाई पुकार गरेर सक्की मिला पुन्हीको दिन जागा गर्न सफल भएको जनश्रुती छ । त्यसपछि जागा भएका विष्णुलाई विष्णु लोकवासीले अन्न खुवाएर पालेको र त्यसबाट प्रसन्न भएका भगवान विष्णुले ‘तपाईंहरु पनि अन्न सुकाउनूस म अमृत वर्षा गरिदिन्छु’ भनेकाले सोहि अनुसार कात्तिक शुक्ल पूर्णिमाका दिन हरेक वर्ष अन्न सुकाएर यो पर्व मनाउने गरिएको उनले बताए ।
यसरी सुकाइएको अन्नमा पैष्टिकता र मीठास थपिने जनविश्वास रहेको अर्का संस्कृतिकर्मी सुनिल उलकले जानकारी दिए । यसरी सुकाइएको रोटी माघ शुक्ल पूर्णिमा अर्थात स्वस्थानी पूर्णिमासम्म खाने चलन रहेको उनले बताए । ‘सुकाइएको अन्नमा शितको रुपमा अमृत झर्ने विश्वास गरिन्छ’–उनले भने ।
सक्की मिला पुन्हीमा सुकाइएको अन्नले विरामी पनि सञ्चो हुन्छ भन्ने जनविस्वास रहेको भीमसेन दुहादश गुठीका गुठियार सदस्य अर्जित नापितले बताए । उनले भने,‘पहिले पहिले गाउँमा कोहि विरामी भए उसलाई खुवाउनका लागि नेवारकोमा यस्तो अन्न पाईन्छ भनेर खोज्दै आउने गर्थे, तर अहिले त धेरै कम भएको छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







