‘हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार–२०८२’ मानवसेवा आश्रमलाई प्रदान गरिने


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०८२ मा प्रकाशित




पोखरा । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले ‘हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार – २०८२’ मानवसेवा आश्रमलाई प्रदान गर्ने भएको छ। सडकमा रहेका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार र संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आश्रमलाई यस वर्षको पुरस्कारका लागि चयन गरिएको समितिले जनाएको छ।

समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीको संयोजकत्वमा गठित चयन समितिले निर्णय गरेको सो पुरस्कारको राशि रू. १,०१,००० (एक लाख एक हजार) र सम्मानपत्र रहेको छ। रु. १५ लाखको अक्षयकोषबाट सञ्चालन हुने यो पुरस्कार प्रत्येक दुई वर्षमा धर्म, संस्कृति र समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ।

पुरस्कार अर्पण समारोह आगामी २०८२ साल कार्तिक २९ गते शनिवार बिहान ८:०० बजे विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजना गरिने समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिनु भएको छ।

समितिले विगतमा यस पुरस्कारबाट नेपाली संस्कृतिका मूर्धन्य व्यक्तित्वहरू स्व. सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, र स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा) लाई सम्मानित गरिसकेको छ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आफ्नो स्थापनाकालदेखि नै विन्ध्यवासिनी क्षेत्रको संरक्षण, भौतिक विकास र धार्मिक–आध्यात्मिक गतिविधिमा सक्रिय रहँदै आएको छ। समितिले गुरुकुल विद्याश्रम, एम्बुलेन्स सेवा, ज्येष्ठ नागरिक मिलन केन्द्र र प्राकृतिक चिकित्सालयसमेत सञ्चालन गरिरहेको छ।

मानवसेवा आश्रम :

मानवसेवा आश्रमले “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल” निर्माण गर्ने उद्देश्यसहित २०६९ साल भाद्र १३ गते हेटौँडाबाट आफ्नो मानवीय यात्रा सुरु गरेको हो। हाल आश्रमले सातै प्रदेशका २१ जिल्लामा २७ सेवा केन्द्रमार्फत करिब २,००० जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षण र पुनःस्थापना कार्य गर्दै आएको छ।

आश्रमले सडकमा आश्रित, असहाय, परिवारबाट विच्छेद भएका र सामान्य मानवअधिकारबाट वञ्चित व्यक्तिहरूको उद्धार, पालनपोषण र पारिवारिक पुनर्मिलनका साथै मानवता प्रवर्द्धनका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।