पोखराको घार्मी र आर्वामा बालाचतुर्दशी पर्व धार्मिक मेलाको रूपमा मनाइने


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८२ मा प्रकाशित




पोखराको धार्मिक पर्यटकीय स्थल घार्मी र आर्वाको महाप्रभु धाममा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइने भएको छ ।

पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । यही मंसिर ३ गते परेको पर्वलाई केन्द्रीत गरी मन्दिर परिषरमा सरसफाई गरी बिभिन्न ध्वजापताका र तोरणले सजाउने कार्य शुरु गरिएको अध्यक्ष पौडेलले बताए।स्थानीय व्यक्तिको घरबाट विधिपूर्वक पूजाआजा गरि निकालिने फुलको डोली बाजागाजा र भजनकिर्तनसहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याउने प्रचलन छ।फुलको डोली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ ।

चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्धार हुने धार्मिक मान्यता छ ।सो धार्मिक मेलामा विश्व हिन्दु महासंघ पोखरा १९, भुमे मैदान भजन समुह र स्थानीय युवाले दिनभर भजनकिर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन समेत दिने बताईएको छ। स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापनको तयारी समेत गरेका छन् ।त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरन्चौर लगायतका क्षेत्रबाट भक्तजन पुग्ने गरेको होटल व्यवसायी हिमलाल पौडेल अभिशेकले बताए । स्थानीय प्रेम बहादुर जिसीका अनुसार अघिल्ला वर्षहरुमा मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लाग्ने गरेको थियो ।

पछिल्लो समयमा विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए ।मन्दिर परिसरमा नै रहेको घार्मी भ्यु टावरले त्यहाँ थप आकर्षण थपेको छ । पोखराको दृश्यसहित मनोरम अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ जसो सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापनादेखि नै बालाचतुर्दशी तथा महाशिवरात्री पर्व विशेष रूपमा मनाउने गरिन्छ ।

त्यस्तै पोखरा, १३ आर्वा स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल महाप्रभुधाममा बालाचतुर्दशीको अवसर पारेर महोत्सव आयोजना गरिदै छ । श्री महाप्रभुधाम रतन पाँडे पर्यटकिय क्षेत्र विकास समितिको आयोजनामा यही मंसिर तीन गते बालाचतुर्दशी सतबीज छर्ने दिन एकदिने महोत्सवको आयोजना गरिने भएको हो । महोत्सवमा राष्ट्रिय खुल्ला भजन चुड्का प्रतियोगिता, तथा महाआरती लगायतका विभिन्न धार्मिक तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने छन् । महोत्सव सम्पन्न गर्न बिभिन्न उपसमितिहरू समेत गठन गरिएको छ ।

महोत्सवको मुख्य आकर्षण समुहगत राष्ट्रिय खुल्ला भजन चुड्का प्रतियोगिता रहेको हो । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ५० हजार रुपयाँ प्रदान गरिनेछ । तेस्तै दोस्रो हुने समुहलाई नगद ३० हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुने एक समुहलाई पाँच हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा टीम दर्ता शुल्क एक हजार रुपयाँ राखिएको छ । सहभागि समुहहरुलाई प्रोत्साहन स्वरुप दुईहजार रुपयाँ प्रदान गरिने बताईएको छ । प्रतियोगितामा भाग लिने समुहले मंसिर एक गतेसम्म टिम दर्ता गराईसक्नु पर्ने छ ।

यसैबिच महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मंसिर एक गते बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरिदै छ । पोखरा १३ काहुँखोलाबाट शुरू हुने प्रभातफेरी पोखराका विभिन्न स्थानको परिक्रमा पछी पुन ः काहुँखोलामा आई समापन हुने आयोजकले जानकारी दिएका छन् ।धार्मिक तथा पर्यटकीय स्थल धामबाट अन्नपूर्ण तथा धौलागिरि हिमश्रृंखला, पोखरा उपत्यका, लमजुङ, हिमाल , पर्यटकीय क्षेत्र सिक्लेस, पर्वत, बागलुङ, स्याङ्जा तथा तनहुँका केही भागको दृष्यावलोकन गर्न सकिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।