‘निट डेण्टल पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०८२ मा प्रकाशित




पोखरा, १७ मंसिर ।
पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले स्थापना गरेको ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने पुरस्कारका लागि बुधबार प्रतिभा छनोट समिति गठन गरिएको हो । फोनिज गण्डकीको बैठकले फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीसमगर, अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर छन् ।
निट डेण्टलको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उक्त पुरस्कार मंगलबार घोषणासँगै पुरस्कार सञ्चालनका लागि ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरिएको थियो ।
निट डेण्टलको तेस्रो वार्षिकोत्सव मंसिर २६ गते भएकाले पुरस्कार स्थापनासँगै प्रतिभा छनोट समिति गठन गरिएको फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । पत्रकारिताका माध्यमबाट समाज परिवर्तनमा सकरात्मक भूमिका निभाएका पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए ।
यो पुरस्कार फोनिजमा मात्र सिमित नभएर अन्य समुदायका पत्रकारले पनि प्राप्त गर्न सक्ने उपाध्यक्ष गुरुङले बताए । ‘नेपालभित्र जुनसुकै जिल्लामा रहेर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारले यो पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ,’ उनले भने, ‘डेण्टलको वार्षिकोत्सवको दिन हरेक वर्षको मंसिर २६ गते एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिनेछ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।