पोखरा सडक महोत्सव पुस १३ देखि


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, मंसिर १८

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव यस वर्ष पनि हुने भएको छ । पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा आगामी पुष १३ गतेदेखि १७ गतेसम्म अंग्रेजी नयाँ वर्षको स्वागतार्थ २७ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको हो । महोत्सव क्षेत्रमा व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सडकमा खानाका परिकारहरु पस्कनेछन् ।

महोत्सवको तयारी शुरु गरिएको रेवान पोखराले जनाएको छ । महोत्सव सम्पन्न गर्न रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति बनाएको र सो समितिले महोत्सवको तयारी शुरु गरेको रेवानले जनाएको छ ।

‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको अध्यक्ष विश्वराज पौडेलले बताए । महोत्सव लेकसाइडको करीब ३ किलोमिटर क्षेत्रमा आयोजना हुने उनले जानकारी दिए । कला संस्कृति प्रवद्र्दन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाईडको प्रचारप्रसार, व्यापार बढाउन, पोखराको ब्राण्डिङ गर्न महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने छुट्टाछुट्टै प्रतियोगिता, सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् । त्यस्तै, महोत्सव अवधीभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्दन, अवसर तथा चुनौतिका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुने संयोजक गौतमले बताए । महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने उनले जानकारी दिए ।

महोत्सवको अवसरमा पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवद्र्दन गरिने उनको भनाई छ ।

रेवान पोखराका निवर्तमान अध्यक्ष नरेशबहादुर भट्टराईले प्रशासनको सहयोग मिले महोत्सवको मूख्य आकर्षणका रुपमा रहेको आतसबाजी यस वर्ष पनि गरिने बताए । ‘यसले महोत्सवको रौनकता थप्छ, आम सर्वसाधारण र पर्यटकको चासो पनि छ, तर हाम्रो कानूनले यसलाई निषेध गरेको छ । त्यसैले प्रशासनको सहयोग भए यस वर्ष पनि आतसबाजी हुन्छ, सहयोग नभए हुँदैन ।’

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा सडक महोत्सवको आयोजना रेवान पोखराले गरेपनि यो महोत्सव सबैको साझा महोत्सव भएको बताए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महोत्सव अवधीभर खानामा गुणस्तर कायम गर्दै बस्ने र खाने कुराको मूल्य आकासिने गरेको गुनासो हरेक वर्ष आउने गरेकाले यस वर्ष विशेष निगरानी राख्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सवलाई सफल बनाउन पोखरेली पत्रकारको सहयोग रहने प्रतिबद्दता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।