साठी घरे पराजुली,पौडेल बन्धु र अलना अधिकारीले गरे कुल पुजा


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०८२ मा प्रकाशित




धान्य पुर्णिमाको दिन आज बिभिन्न समुदायले परम्परागत रुपमा कुल पुजा गरेका छन् ।

पोखरामा बसोबास गर्दै आएका साठी घरे पराजुलीले पनि धुमधामका साथ कुल पुजा गरेका छन् । पोखरा १ खरबारीमा रहेको कुल देवता मन्दिरमा पुगी उनीहरुले विधिपुर्वक पुजा आजा गरेका हुन् । अघिल्लो दिन नै चोखो नितो गरी पुर्णिमाका दिन प्रत्येक साठी घरे पराजुलीका घरबाट पितृको सम्झना स्वरुप टाँगो सहित फुल अक्षता कुल मन्दिरमा लगि चढाउने प्रचलन रहेको साठी घरे पराजुली समाजका अध्यक्ष विश्वगोपाल पराजुलीले जानकारी दिए । पुजामा पोखरा बाहिर रहेका पराजुली बन्धु बान्धवको पनि सहभागिता रहेको थियो ।

सो अवसरमा कुल देवता मन्दिर परिसरमा संरचना निर्माण एवं अक्षयकोष संचालनका लागि आर्थिक सहयोग समेत संकलन भएको कुलपुजा व्यवस्थापन उपसमितिका संयोजक शान्ति पराजुलीले बताईन् । पराजुलीले प्रत्येक ३–३ बर्षमा कुलपुजा गर्दै आईरहेका छन् । यस्तै पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा मुल थलो भई देशका विभिन्न भागमा बसोबास गर्ने पौडेल बन्धुहरुले पनि कुल पुजा गरेका छन्।

घार्मीको देउतीपुज्नेमा रहेको कुल मन्दिरमा पुगी बिधी पुर्वक पुजा आजा सम्पन्न गरेको पुजा व्यवस्थापन समितिका उपाध्यक्ष बलराम पौडेलले जानकारी दिए।कुल पुजामा पुजा सम्पन्न पछि मन्दिर परिसरमै भजन कीर्तन सहित रातभर जाग्राम बसेर कुल देवताको आराधना गरिने समितिका सचिव बाबुराम पौडेलले बताए।

परम्परा देखि नै पौडेल बन्धुले पुजा गर्दै आइरहेको उक्त स्थानलाई स्थानीयको सहयोगमा व्यवस्थित बनाईएको छ। कश्यप गोत्रीय अलना अधिकारीले पनि आजै कुल पुजा गरेका छन् । उनीहरुले माछापुच्छ्रे ५ अस्ताममा रहेको कुल मन्दिरमा पुगी कुल देवताको आराधना सहित पुजा गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।