वालिङ–हुवास सडक कालोपत्र हुँदै


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०८२ मा प्रकाशित




दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ ।

विसं २०४९ मा मार्ग विस्तार गरिएको भए पनि अहिलेसम्म कच्ची र जोखिमपूर्ण अवस्थामा रहेको सडक कालोपत्र गर्न थालिएको हो । वालिङ–हुवास सडकखण्डकोे पियाखेतदेखि हुल्काङ खण्डमा कालोपत्र विछ्याउन थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि विनियोजित रु चार करोड बजेटबाट कालोपत्र गर्न थालिएको कार्यालयले जनाएको छ । छ मिटर चौडाइमा कालोपत्र गरिएको छ ।

पर्वत र स्याङ्जाको सिमाना चिसापानीदेखि डुम्रेभञ्ज्याङसम्मको भाग स्तरोन्नति गर्न माघमा बजेट विनियोजन भएर काम सुरु भएको थियो । चिसापानीदेखि हुवास–त्रिवेणी–वहाकी–रानीपानीसम्मको सडक भने यसअघि नै कालोपत्र भइसकेको छ ।गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयले उक्त सडक कालोपत्र गरेको हो । बाँकी रहेको डुम्रेभञ्ज्याङदेखि चिसापानी सडक कालोपत्र भएपछि दक्षिण पर्वतका बासिन्दालाई यात्रा गर्न सहज हुने भएको छ ।

यो सडकबाट पर्वतको पैँयु गाउँपालिकाका सात, विहादीका छ वटा वडाका साथै महाशिला र फलेवास नगरपालिकाका बासिन्दासमेत लाभान्वित हुने भएका छन् । झण्डै १६ किलोमिटर लामो वालिङ–हुवास सडक जीर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौँ समय र जोखिम मोल्नुपर्ने अवस्था रहेकामा अब भने सहज भएको पैँयु वडा नं ५ चिसापानीका वडाध्यक्ष नारायण भुर्तेलले बताए ।

सडक कालोपत्र भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोरबीच पनि सिधा सम्पर्क विस्तार हुनुका साथै वैकिल्पक मार्गका रूपमा प्रयोग गर्न सकिने छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।