कास्की कारागारबाट फरार १ कैदी सहित २ जना पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०८२ मा प्रकाशित




जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार एक जना सहित २ युवा पक्राउ परेका छन् ।

बिभिन्न अपराधमा आठ पटकसम्म पक्राउ परी कास्की कारागारमा रहेका प्यूठान घर भई पोखराको नदीपुरमा बस्ने सुमित थापा मगर र अर्का एक युवा धादिङ घर भई सोही ठाँउ बस्ने सुजन परियार पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।थापा मगर भदौं २४ गते आन्दोलनको मौका छोपी कारागारबाट भागेका थिए । कास्की कारागारबाट फरार भई पोखराका बिभिन्न स्थानमा भएका चोरीमा संलग्न रहेको भन्दै थापा मगर सहित परियारलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो ।परियार पनि यस भन्दा अगाडी अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । उनीहरुलाई रामघाटबाट पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुषन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक गणेश पाण्डेले जानकारी दिए ।

उनीहरुले पोखरा १३ विपिमार्गमा रहेको पोखरा लक्ष्मी ट्रेडर्सबाट काउण्टर टेबुलको घर्रा फोरी नगद ४१ हजार सहित राष्ट्रिय परिचय पत्र, सवारी चालकअनुमति पत्र, बिलबुक, नागरिकता समेतको कागजपत्र भएको व्याग र ड्यामसाईड स्थित आरुस स्टोर्सको ढोका फोडेर नगद र२ लाख ७३ हजार ५००रुपैयाँ चोरी गरेका थिए । चोरीमा संलग्न सुमित थापा मगरले पोखरा ४ आदर्शमार्गको सडक किनारामा पार्किङ गरी राखेको ग १५ प १०२० नंको डियो स्कुटर चोरी गरेको, न्यूरोड स्थित एसबी वाईनसप अगाडी पार्किङ गरी राखिएको ग १ क २५९८ नं को गाडीमा राखिएको लाईसेन्स, बिलबुक, ए टि एम कार्ड, विभिन्न चेक र नगद ३५ हजार चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरीले पोखराका विभिन्न स्थानहरुमा चोरीका घटनाहरु बढिरहेको पाईएको भन्दै सचेत रहन आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।