कांग्रेसमा उम्मेद्वार सिफारिस तिब्र, डडेलधुराबाट देउवाको नाम एकल सिफारिस


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०८२ मा प्रकाशित




आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेद्वारी सिफारिसलाई तिब्रता दिएको छ ।

आगामी पुस २६ देखि २८ गतेसम्म हुने १५ औं महाधिवेशनको तयारीलाई पनि सँगसँगै अगाडी बढाएको काँग्रेसमा जिल्लातहबाट उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउने कार्य जारी रहेको छ । डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस भएको छ। कांग्रेस जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम एकल रूपमै सिफारिस गरेको हो। डडेलधुरा कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले पूर्व प्रधानमन्त्री समेत रहेका देउवाको नाम एकल रूपमै सिफारिस भएको जानकारी दिए।

देउवाले केही दिनयता आफूलाई भेट्न पुग्ने नेता कार्यकर्ताहरूलाई डडेलधुराबाट अन्तिमपटक चुनाव लड्ने मनशायमा रहेको बताउन थालेका थिए। नेपाली राजनीतिमा २०४८ यताका सबै निर्वाचनमा उठेर निर्वाचन जित्ने नेता सभापति देउवा एक्ला पात्र हुन्। यस्तै प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौं–५ बाट उम्मेदवार सिफारिस भएका छन् ।त्यस क्षेत्रबाट प्रत्यक्षतर्फ प्रवक्ता महत सहित प्रदीप पौडेल, रजनी थापा, भैरव सापकोटा र सरीन घिमिरे शर्माको नाम पनि सिफारिस भएको हो ।

पार्टीका उपसभापति धनराज गुरुङ स्याङ्जाका दुबै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका लागि सिफारिस भएका छन् । उनीसँगै मेडिकल व्यवसायी खुमा अर्यालको नाम पनि सिफारिस भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।