टेवान स्थापना दिवसमा महिला हिंसा सचेतना कार्यक्रम


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०८२ मा प्रकाशित




महिला माथि हुने हिंसा नियन्त्रण गर्न महिला स्वयं नै सक्षम हुनुपर्ने पोखरामा आयोजित एक कार्यक्रममा जोड दिईएको छ ।

पर्यटन व्यवसायी महिला संघले आफ्नो आठौं स्थापना दिवसका अवसरमा आयोजना गरेको महिला हिंसा सचेतना कार्यक्रममा बोल्ने अधिकांस वक्ताले विभेद जुनसुकै भएपनि त्यसलाई उजागर गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्दैै सुरक्षित वातावरण तयार गर्नुपर्नेमा जोड दिए । अधिवक्ता तारा शर्माले महिला हिंसा न्यूनीकरण गर्न महिलाको पनि उत्तिकै भूमिका हुने बताइन् । ‘पुरुषलाई मात्रै गाली गरेर महिला हिंसा अन्त्य हुँदैन,’ उनले भनिन्, ‘प्राप्त अधिकारको दुरुपयोग होइन, सदुपयोग गर्दै सबै पक्ष मिलेर महिला हिंसा अन्त्य गर्नुपर्छ ।’

टेवानकी संस्थापक अध्यक्ष लक्की कार्की क्षत्रीले संस्थाको गतिविधिले पर्यटनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धि गर्न योगदान पु¥याएको बताइन् । ‘महिलामाथि हुने विभेद सहने होइन, उजागर गर्ने हो,’ उनले भनिन्, ‘महिला हिंसा अन्त्य गर्न पुरुषले पनि साथ दिनुपर्छ ।’ टेवान अध्यक्ष शोभा पाण्डेले महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई केन्द्रीत गरी सचेतना कार्यक्रम आयोजना गरेको बताइन् ।

टेवान महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गरेको कार्यक्रममा संयोजक जयादेवी तिवारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।