पोखरा सहित देशका बिभिन्न सहकारीमा लुटपाट गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एउटै प्रकृतिको अपराध गरेको अभियोगमा, नुवाकोटका २८ वर्षीय दीपक गजुरेललाई प्रहरीले २३औँ पटक पनि पक्राउ गरेको छ । पटक पटक पक्राउ परेका गजुरेलले काठमाडौं–पोखरासहित सहरका विभिन्न १९ वटा सहकारी लुटेको खुलासा भएको छ । देशका बिभिन्न ठाँउका सहकारी संस्था लुटपाट गर्ने कार्यमा संलग्न गजुरेललाई प्रहरी वृत्त गौशालाको विशेष टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गजुरेलले सिनामंलगस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरेर लुटपाट गरेका थिए । प्रहरीको विशेष टोलीले सहकारीको कार्यालय तथा आसपासका सीसीटीभी फुटेजका आधारमा सहकारी लुट्ने गजुरेलाई पहिचान गरेर पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका गजुरेलमाथि अनुसन्धान गर्दा भने प्रहरी नै चकित परेको छ । अनुसन्धानका क्रममा गजुरेल सहकारी लुटपाटका ‘नटवरलाल’ नै भएको खुलेको छ ।
यो बाहेक अन्य अपराध गरेर २२ वटा मुद्दा गजुरेलविरुद्ध चलेको खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा गजुरेल सहकारी लुटपाट गरेकै अभियोगमा पुर्पक्षका लागि थुनामा थिए । भदौ २४ गतेको जेनजी प्रदर्शनमा भने गजुरेल सुन्धारा कारागारबाट भागेको खुलेको छ । प्रहरीले २३औँ पटक पक्राउ गरेका दीपक गजुरेल सहकारी लुटपाटमा एक्लै जाने र लुट्ने गरेको प्रहरीको दाबी छ । बुधबार सिनामंगलको राज श्री सहकारी लुट्नसमेत गजुरेल एक्लै पुगेका थिए । प्रहरीका अनुसार गजुरेलले सहकारी राति १२ः४५ मा लुटेका थिए । सहकारीका सञ्चालकले सहकारीको १६ लाख रुपैयाँ लुटिएको उजुरी प्रहरीमा दिएपछि अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले सहकारी लुटपाटमा गजुरेल रहेको खुलेपछि खोजी थालेको हो । प्रहरीले सहकारी लुटिएको दुई दिनमै गजुरेलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले गजुरेले सहकारी लुटेको १० लाख २३ हजार पाँचसय रुपैयाँसमेत बरामद गरेको छ । प्रहरीका अनुसार गजुरेलले सहकारीको रकम लुटेर लगेज ठमेलस्थित होटल लोटस ग्रान्ड होटलमा राखेका थिए । आफू भने प्रेमीसहित गौशालाको एक होटलमा बस्दै आएका थिए । प्रहरीले सिनामंलगबाट पक्राउ गर्दा गजुरेलको साथबाट २३ हजार ५०० रुपैयाँमात्रै फेला पारेको थियो । बाँकी रकम आफूले खर्च गरेर सकिएको बयान प्रहरीलाई दिएका थिए । तर, प्रहरीले गजुरेलकी प्रेमीकालाई समेत पक्राउ गरेपछि भने सहकारीबाट लुटेको रकम ठमेलको होटलमा राखेको पत्ता लागेको हो । प्रहरीको अनुसन्धानका क्रममा सहकारी लुटेपछि गजुरेलले काठमाडौं र पोखराका महंगा होटलहरुमा प्रेमी लिएर बस्ने गरेको खुलेको हो ।
प्रहरीका अनुसार गजुरेल लामो समयदेखि सहकारी ठगी धन्दामा सक्रिय थिए । उनी चलायमान हुने सहकारीबारे दिउँसै रेकी गर्न हिँड्ने र रातिमात्रै लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







