सन्देश श्रेष्ठ
पोखरा, मंसिर २९
आगामी फागुन २१ गते हुने निर्वाचनमा फरार कैदी बन्दी र लुटिएका हतियार चुनौति बन्न सक्ने औंल्याइएको छ । पोखरामा सोमबार भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी बन्दी तथा लुटिएका हतियारहरु फागुनमा हुने चुनावका लागि चुनौति बन्नसक्ने औंल्याएका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको गोष्ठीमा सहभागी गण्डकीका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरीका जिल्ला प्रमुखहरु सहभागी थिए ।
गोष्ठीमा फागुन २१ को चुनावमा हुनसक्ने सुरक्षा तथा व्यवस्थापकीय चुनौतिबारे छलफल भएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् । छलफलमा फरार कैदी बन्दी र लुटिएका हतियार नै निर्वाचनका लागि प्रमुख चुनौति हुनसक्ने सबैको विश्लेषण थियो,उनले भनिन्,‘ती चुनौति चिर्नेबारे घनिभुत छलफल भयो ।’
गोष्ठीमा स्वतन्त्र, निस्पक्ष र भयरहित निर्वाचन कसरी गराउन सकिन्छ भन्नेबारे पनि छलफल भएको थियो । त्यस क्रममा सहभागीहरुले निर्वाचन लक्षित कार्यक्रमहरु, शान्ति सुरक्षाका लागि भएको तयारी, जेनजी आन्दोलनपश्चात सुरक्षा निकायले भोगेका समस्या र समाधानबारे पनि धारणा राखेका थिए । शान्ति सुरक्षाका लागि भएगरेका प्रयासहरुबारे पनि गोष्ठीमा ब्रिफिङ भयो,उनले भनिन्,‘फरार कैदी बन्दी र लुटिएका हतियार फिर्ता ल्याउनका लागि भएका प्रयासहरु बारे पनि रिपोर्टिङ भयो ।’ गोष्ठीमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट पुगेको क्षेतीबारे पनि ब्रिफिङ भएको थियो ।
गोष्ठीको अन्तिम तिर गृहमन्त्री अर्यालले मनोवल उच्च बनाएर शान्ति सुरक्षा, अमनचयन कायम गर्न निर्देशन दिएका थिए । जेनजी आन्दोलनपश्चात सुरक्षा निकायको मनोवल गिरेको बताईन्छ । त्यसैलाई संकेत गर्दै उनले भने,‘तपाईंहरु मनोवल उच्च बनाएर शान्ति सुरक्षा, अमनचयन कायम गर्न लाग्नूस् । निर्वाचन सफल बनाउने दायित्व तपाईं हाम्रै हो त्यसका लागि निर्धक्क भएर लाग्नूस् ।’
यसअघि सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा फरार भएका कैदी र लुटिएका हतियार फिर्ता ल्याउन गृह प्रशासन लागिरहेको बताए ।
जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेको छ । तर दलहरुले भने जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी र लुटिएका हतियार चुनावका लागि चुनौति बनेको बताउँदै आएका छन् । सोहि कारण चुनावी वातावरण नबनेकाले तोकिएको मितिमा चुनाव हुनेमा उनीहरुले आशंका व्यक्त गर्दै आएका छन् । लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको विषयप्रति सरकार र गृह प्रशासन जानकार छ,उनले भने,‘फरार कैदी र लुटिएका हतियार फिर्ता ल्याउन सरकार र गृह प्रशासनले कार्य गरिरहेको व्यहोरा जानकारी गराउछु ।’ उनले ७० प्रतिशत कैदी बन्दी कारागार फिर्ता भइसकेको र अन्यलाई पनि फिर्ता ल्याउन गृह प्रशासन लागेको दाबी गरे ।
गृहमन्त्री अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम नफैलाउन दल र नेताहरुलाई उनले आग्रह गरे । लोकतन्त्रको अभिन्न अंग विधिको शासन र स्वतन्त्र निर्वाचन हो,उनले अगाडि थपे,‘निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैलाउनु न्यायोचित हुँदैन ।’ उनले निर्वाचन गराउन वर्तमान सरकार दृढ भएर लागिरहेको बताए । उनले भने,‘निर्वाचन गराउन सरकार दृढ भएर लागिरहेको छ, निर्वाचन तोकिएकै मितिमा हुन्छ र त्यसका लागि कार्यतालिका अनुसार नै तयारी पनि चलिरहेको छ ।’ उनले निर्वाचन गराउने कार्यमा सुरक्षा तथा व्यवस्थापकीयलगायतका विभिन्न चुनौति देखिनसक्ने भन्दै त्यो चुनौति चिर्न सुरक्षा निकायलाई सचेत भएर लाग्न निर्देशन दिए । उनले जेनजी आन्दोलनका जगमा बनेको वर्तमान सरकारले सुशासनलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै यसलाई कमजोर बनाउने काम कतैबाट पनि गर्नु र गराउनु न्यायोचित नहुने बताए ।
गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण बनाउन सरकारले प्रयास गरिरहेको बताए । त्यस अन्तर्गत दलहरुसँग पनि वार्ता र सम्वादको विषयमा सरकार जिम्मेवार, संवेदनशील र त्यतिकै उत्तरदायी रहेको उनले उल्लेख गरे । भने,‘जसका लागि सरकार वार्ता, सम्वाद र छलफलका लागि खुला छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






