एमालेको नयाँ नेतृत्वका लागि आज मतदान, ११ केन्द्रीय सदस्य निर्विरोध,अनुशाासन आयोगमा कास्कीका पहारी


     एभरेस्ट आवाज    
     पौष १ गते २०८२ मा प्रकाशित




नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ । उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदा ११ जना केन्द्रीय सदस्य र अनुशासन तथा लेखा आयोगका ६ जना पदाधिकारी पनि निर्विरोध भएका छन्।

निर्वाचन समितिकाअनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। जसमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल छन्। यस्तै मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्। समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी निर्वाचित भएकी छन् भने समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

त्यसैगरि पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।एमाले अनुशासन आयोगको अध्यक्षमा कास्कीका प्रा डा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्।आयोगमा काशीनाथ अधिकारीले अन्तिम समयमा आएर उम्मेदवारी नदिए पछि पहारी निर्विरोध भएका हुन् । लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध भएका हुन्।

यस्तै उपमहासचिव पदमा उम्मेदवारी दिएका नेता राजेन्द्र गौतमले भने उम्मेदवारी फिर्ता लिएका छन्। अन्य पदमा भने निर्वाचन हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।