नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा असाधारण जिम्मेवारी रहेको बताएका छन् ।
पार्टीको ११ औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई आज सम्बोधन गर्दै उनले केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ उक्त जिम्मेवारी पूरा गर्नुपर्ने बताए । अध्यक्ष ओलीले पार्टीको ११औँ महाधिवेशन भव्यता र हरेक कोणबाट सफल भएको दाबी गरे । उनले पार्टीभित्र समय समयमा केही समस्या देखिए पनि आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्नेमा सबै सचेत रहनुपर्नेमा जोड दिए । “हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीतिअनुसार अगाडि बढ्ने छौँ । बेतालमा, बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ”, अध्यक्ष ओलीको भनाइ थियो ।
उनले पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न र केही, असहमति र असन्तुष्टि भए नेतृत्वसमक्ष मौखिक वा लिखत रूपमा पेस गर्न आग्रह गरे । “समाज र सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य छ । उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र तीमध्ये पनि अग्रदस्ताको रूपमा रहेको एमालेभित्र दृढ अनुशासन अपरिहार्य छ । यसमा हामी सबै जिम्मेवार ढङ्गले सचेत रहनुपर्छ”, अध्यक्ष ओलीले भने,“एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी होइन । सामूहिक प्रयास र हितकाविरुद्ध मेरो निजी कुरा भनेर चल्न मिल्दैन । अब पार्टीको बैठक पनि अति अनुशासित रूपमा चल्ने छ ।”
एमालेकाविरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उनले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गरे । अब एमालेभित्र कुनै गुट र प्यानल नभएको भन्दै अध्यक्ष ओलीले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट समेत पारे । हाल देश अप्ठेरो अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो अप्ठेरोबाट सहज बाटोमा ल्याउने काम एमालेले नै गर्ने जिकिर गरे ।
एमालेले पुस अन्तिम साता दोस्रो केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकले पार्टीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते बस्ने तय गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







