पोखरा, पुस १४
पोखराका ४ वटा बैंकले जिल्ला मालपोत कार्यालय कास्कीलाई कम्प्यूटर हस्तान्तरण गरेका छन् । मालपोतबाट दिइने सेवालाई सहज बनाउन नविल बैंक,सिटीजन्स बैंक,ग्लोबल आइएमई बैंकको तर्फबाट दुई थान कम्प्यूटर तथा हिमालयन बैंकको तर्फबाट एउटा कम्प्यूटर र प्रिन्टर तथा हस्तान्तरण गरिएको हो । गएको भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा मालपोत कार्यालयसँगै त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए ।
कार्यालय जलेसँगै मालपोतबाट प्रवाह हुने सेवा ठप्प भएको थियो । सेवा सूचारु गराउनका निम्ति पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा एक सहजीकरण समिति गठन गर्दै तत्काल सहयोग जुटाउने अभियान थालिएको थियो । सोही समितिको अगुवाइमा विभिन्न संघ÷संस्थाको सहयोगमा तत्कालको लागि कार्यालयको मर्मत, नयाँ ट्रष्ट निर्माण एवं आवश्यक कम्प्यूटर,फर्निचरलगायत सामग्री जुटाइएको थियो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमका अनुसार मालपोत कार्यालयको सेवा सूचारु गर्न बैंकर्स एसोसियसन गण्डकीलाई पनि आग्रह गरिएकोमा अहिले विभिन्न वित्तीय संस्थाबाट सहयोग जुटेको हो ।
सोमबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम,बैंकर्स एसोसियसन गण्डकीका अध्यक्ष हरि ढकाल,नविल बैंकका गण्डकी प्रादेशिक प्रमुख निराजन भण्डारी,सिटीजन्स बैंकका गण्डकी प्रादेशिक प्रमुख हरि घिमिरे,ग्लोबल आइएमइ बैंकका प्रदेश प्रमुख सुशोभन देवकोटा,हिमालयन बैंकका गण्डकी प्रदेश प्रमुख रवीन्द्रभक्त श्रेष्ठ,हिमालयन बैंक पृथ्वीचोक शाखा प्रमुख सुमिता नेपाल, नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन पोखराका अध्यक्ष मौषम कार्कीसहितले मालपोत कार्यालय कास्कीका प्रमुख कालीबहादुर भुजेललाई ती सामग्री हस्तान्तरण गरेका हुन् । मालपोत प्रमुख भुजेलले अहिले कार्यालयबाट दैनिक सेवा प्रवाहमा कुनै कमी हुन नदिएको तर जलेका भौतिक संरचना पुननिर्माण हुन भने समय लाग्ने बताए । यसअघि लेखापढी व्यवसायी,गण्डकी आवास तथा घरजग्गा व्यवसायी समितिलगायतका संघ÷संस्थले पनि मालपोतको सेवा सूचारु गराउन सहयोग गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा , नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी…






