नेपाली कांग्रेसको देउवा समुहले ४३ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाण्डौंमा १५औँ महाधिवेशन गर्ने घोषणा गरेको समुहले वडा, पालिका, क्षेत्रीय अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशनलाई अन्तिम चरणमा पुर्याएको छ । ६ जिल्लामा अधिवेशन उद्घाटन भइसकेको समुहले जनाएको छ ।केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता एगराज पोखरेलका अनुसार १सय ३४ वटा निर्वाचन क्षेत्रमा समेत अधिवेशन सम्पन्न भइसकेको छ । मंसिर ४ गतेका लागि तय गरिएको प्रदेश अधिवेशनको मिति भने केही दिन पर सर्ने भएको छ । मंसिर ४ गते हरिबोधिनी एकादशी परेकाले प्रदेशहरूलाई आफ्नो अनुकूलता हेरेर अधिवेशन गर्ने जानकारी आएको पोखरेलले बताए ।
समुहको गण्डकी प्रदेश अधिवेशन भने मंसिर ५ देखि पोखरामा हुने भएको छ। पोखरा सभागृहमा ५ र ६ गते प्रदेश अधिवेशन गर्ने गरी तयारी तीव्र पारिएको गण्डकीका उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए । अधिवेशनको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ ।अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट करिब १ हजार ६ सय प्रतिनिधिको उपस्थिति रहने अपेक्षा गरिएको छ । प्रदेशका ३६ वटा प्रदेश निर्वाचन क्षेत्रबाट प्रदेश सभापतिसहित प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् ।
त्यस्तै, १८ वटा संघीय निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशका ८५ वटा पालिकाका सभापति, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्नेहरू पनि अधिवेशनमा सहभागी हुनेछन् । यसैगरी प्रदेश सांसद तथा विभिन्न पालिकाका प्रमुख र उपप्रमुखको समेत सहभागिता रहनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्…







