आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै,प्रधानमन्त्रीद्वारा तमु ल्होसार पर्वको शुभकामना


     एभरेस्ट आवाज    
     पौष १५ गते २०८२ मा प्रकाशित




गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् ।

ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता छ ।

प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छन् । पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरिन् । उनले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।