बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी


     एभरेस्ट आवाज    
     पौष १९ गते २०८२ मा प्रकाशित




म्याग्दीको सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेलाको आयोजना गरिनेछ । आज बेनीमाआयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको बताईन् । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको खरिद बिक्री समेत हुने अध्यक्ष श्रेष्ठले जानकारी दिईन् ।

मेलामा खुला लोकनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता, खुला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालयस्तरीय पेन्टिङ प्रतियोगिता र छेलोलगायत प्रतियोगिता सञ्चालन हुने महिला उद्यम विकास समितिले जनाएको छ । उद्यमशील सोचको विकासका लागि मेलामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको उद्यमशील व्यावसायिक योजना प्रतियोगिता समेत समावेश गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

उनले माघे संक्रान्ति मेलाले महिला उद्यमीहरुको नेतृत्व क्षमताको विकास हुनुको साथै जिल्लामा लुकेर रहेका प्रतिभा, कला संस्कृति र मौलिक भेषभूषाको समेत प्रवद्र्धनमा सघाउ पुग्ने बताए । मेलाको उद्घाटनका दिन बेनी बजारमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने भएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती समेत रहनेछ । मेलालाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरी तयारी थालिएको समितिका महासचिब प्रमिला जोशी श्रेष्ठले जानकारी दिईन् ।

मेलामा कृषि ज्ञान केन्द्रको सहकार्यमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनको प्रदर्शनी तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहकार्यमा पशुजन्य उत्पादनको प्रदर्शनी समेत राखिने भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।