वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने


     एभरेस्ट आवाज    
     पौष २० गते २०८२ मा प्रकाशित




जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ ।

सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो । आउँदा दिनमा पनि कम वर्षाको आकलन गरिएको उनले बताए । यही पुस १७ गतेदेखि फागुन १६ गतेको दुई महिना अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने बताउँदै उनले सुदूरपश्चिम, कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरे ।

कायस्थका अनुसार सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका पश्चिमी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।सुदूरपश्चिमका दक्षिण–पश्चिमी भूभाग, कर्णालीका मध्य भूभाग, लुम्बिनीका उत्तरी भूभाग, गण्डकीका मध्य भूभाग, बागमतीका मध्य भूभाग, मधेसका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य तथा दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उनले जानकारी दिए ।

देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले सार्वजनिक गरेको जलवायु आकलनमा उल्लेख छ । हालसम्म प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार गत डिसेम्बरमा देशभर सरदरभन्दा कम वर्षा मापन गरिएको छ । विभागले यस आकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको जलवायु प्रारुपका आकलनको आधारमा तयार गरिएको जनाएको छ । साथै नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एलनिनो तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइको हालको अवस्थालाई समेत मध्यनजर गरी तयार गरिएको विभागका सूचना अधिकारी कायस्थले बताए ।

हाल प्रशान्त महासागरमा लानिनाको अवस्थामा रहेको र हिउँद ऋतुको अन्त्यसम्ममा तटस्थतर्फ जाने विश्वव्यापी प्रारुपहरूको आकलन रहेको छ । त्यसैगरी, हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइक ९आइओडी० हाल तटस्थ अवस्थामा रहेको र हिउँद अवधिभर तटस्थ अवस्थामै रहने विश्वव्यापी प्रारुपहरूको आकलन गरिएको छ । ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणालीहरू, भूउपयोगजस्ता विषयमा निर्भर हुने र जलवायु प्रारुपहरूलाई यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने विभागका सूचना अधिकारी कायस्थले उल्लेख गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।