माघे सङ्क्रान्तिमा बिहिबार अनदु, ढुंगेपाटनमा चङ्गा चैट कार्यक्रम आयोजना हुने


     एभरेस्ट आवाज    
     पौष ३० गते २०८२ मा प्रकाशित




पोखरा । नेपाली मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ माघे (मकर) सङ्क्रान्तिको अवसरमा पोखराको विश्व शान्ति स्तुपा परिसरमा चङ्गा च्याट कार्यक्रम आयोजना हुने भएको छ।

घुमन्ते परिवारको सहकार्यमा Kites Nepal को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा काठमाडौँबाट अनुभवि तथा वरिष्ठ चङ्गा उडान गर्ने “काइट फाइटर्स” सहित पोखराका स्थानीय/वयस्क युवाहरूको सक्रिय सहभागिता रहने कार्यक्रमका संयोजक आकाशकुमार बज्राचार्यले बताएका छन् ।

कार्यक्रम माघ १ गते बिहिबार (जनवरी १५, २०२६) पोखरा महानगरपालिका–२२, अनदु ढुंगेधारामा दिनको ११:३० बजेदेखि सुरु हुने घुमन्ते सदस्य पवनमान गुभाजुले जानकारी दिएका छन् ।

Kites Nepal का संस्थापक बिकल चौलागाईंका अनुसार चङ्गा उडान नेपालको परम्परागत संस्कृति भएकोले यसलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। “यो कार्यक्रम पूर्ण रूपमा पारिवारिक, मनोरञ्जनात्मक र सांस्कृतिक चेतना फैलाउने खालको हुनेछ,” उनले बताए।

आयोजकले विश्व शान्ति स्तुप छेउको ढुंगेधारा जस्तो पवित्र तथा ऐतिहासिक स्थलको मर्यादा कायम गर्दै स्वच्छता, सुरक्षा र शान्त वातावरणमा कार्यक्रम सञ्चालन गरिने समूहका संरक्षक बिमलमान गुभाजुले प्रतिबद्धता व्यक्त गरेका छन्।

घुमन्ते समूहका मुखिया दशरथमान बुद्दाचार्यले सम्पूर्ण चङ्गा प्रेमी, संस्कृति अनुरागी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई “BRINGING BACK THE CULTURE” अभियानलाई साथ दिन आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।