सर्वेश्वर व्यवसायी समितिको अध्यक्षमा गौतम


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, माघ ११

सर्वेश्वर व्यवसायी समितिको अध्यक्षमा छबिलाल गौतम चयन भएका छन् । समितिको १४ औं साधारण सभा तथा सातौं अधिवेशनले निवर्तमान बरिष्ठ उपाध्यक्ष गौतमलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको बरिस्ठ उपाध्यक्षमा विशाल अधिकारी, महासचिवमा लोकनाथ आचार्य र उप–महासचिवमा शिवप्रसाद भण्डारी, सचिवमा श्याम कुँवर र कोषाध्यक्षमा विष्णु सुवेदी चयन भएको समितिका निवर्तमान अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए ।

त्यस्तै, सदस्यहरुमा सन्दिप थापा, धर्मदत्त काफ्ले, प्रकाश थापा र सुवाष पाण्डे चयन भएको उनले बताए । एक सदस्य पछि मनोनित गर्ने उनले जानकारी दिए । समितिमा रहेको उपाध्यक्ष सह कोषाध्यक्ष पद भने यस पटकदेखि हटाइएको उनले बताए ।

सर्वेश्वर व्यवसायी समिति पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था हो । सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको निवर्तमान अध्यक्ष थापाले जानकारी दिए ।

होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।