पोखरा, फागुन ६
जगदम्बा ट्राभलले ईभी लक्जरी बस भित्राएको छ । जगदम्बाले एक करोड ६८ लाख पर्ने दुई वटा ईभी लक्जरी बस भित्राएको हो । सोफा र एसीसहितको सुविधा सम्पन्न उक्त बसबाट जगदम्बाले बुधबारदेखि सेवा शुभारम्भ गरेको छ । सेवाको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले शुभारम्भ गरे । बस पोखरा–धुलिखेल रुटमा सञ्चालन हुन थालेको जगदम्बा मोटर प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

जगदम्बाले पोखरा–काठमाडौं र पोखरा–धरान, पोखरा–विराटनगर र पोखरा–काकडभिट्टालगायतका ठाउँहरुमा डिजेल बसबाट लक्जरी बस सेवा सञ्चालन गर्दै आएको छ । सोहि गुणस्तरको सेवा अब लक्जरी बसबाट सस्तो मूल्यमा दिनेगरी ईभी लक्जरी बस सञ्चालनमा ल्याएको अधिकारीले बताए । यो बस ३६ सिट क्षमताको रहेको बताउँदै उनले भने,‘यसमा जहाजका जस्तै सिट सुविधा छ ।’
ईभी लक्जरी बस निकै सस्तो भाडादरमा सञ्चालन हुने उनले बताए । उनका अनुसार पोखरा–धुलिखेलमा ९ सय रुपैयाँमा सेवा दिईनेछ । खास मूल्य एक हजार हो,उनले भने,‘तर अनलाईन टिकट काटेमा एक सय रुपैयाँ क्यास ब्याक (फिर्ता) हुनेछ । यो बस पोखराको पस्र्याङबाट पूर्वाह्न ९ बजे छुटेर लेकसाइडहुँदै पर्यटन बसपार्कबाट ९ः३० मा धुलिखेलका लागि छुट्नेछ । फर्किदा भने धुलिखेलबाट विहान ७ बजे छुटेर कलंकीहुँदै पोखरा आउने उनले बताए ।
अध्यक्ष अधिकारीले निकट भविश्यमा नै विरगञ्जबाट र विराटनगरमा समेत यहि स्तरको ईभी लक्जरी बस सेवा सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी दिए ।
शुभारम्भको अवसरमा बोल्दै पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले पर्यटनको राजधानी पोखराबाट सुविधा सम्पन्न ईभी गाडीबाट सस्तो मूल्यमा सेवा दिनु खुशीको कुरा भएको बताए । नयाँ प्रविधि र सस्तो शुल्कले सबैलाई उत्साहित बनाएको उनको भनाई थियो ।
ईभी लक्जरी बस नेपाल भित्राउने सहनशीला मोटर्सका महानिर्देशक सन्तोष खतिवडाले अबको युग इलेक्ट्रिक भेहिकलको युग भएको बताए । उनले ईभी गाडी भित्राएर सस्तो विद्युतको उपयोग गर्न सके इन्धनका लागि बाहिरिने अर्बौं रकम विदेशिनबाट जोगाउन सकिने दाबी गरे ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, ट्राफिक प्रहरी उपरीक्षक दानबहादुर थापाले नया नया बस सञ्चालनमा आईरहँदा सावधानी र सतर्कता अप्नाउन सुझाव दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एवम् पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष एनकुमार साई र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले नीजि क्षेत्रलाई राज्यले सहयोगीका रुपमा लिन नसकेको बताए । नीजि क्षेत्रले सञ्चालन गरेको यात्रुवाहक गाडीलाई राज्यले सार्वजनिक यातायात सेवाको रुपमा राखेको तर त्यो अनुसार सेवा, सुविधा र सम्मान भने नदिएको उनीहरुको गुनासो थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराललगायतले यात्रुमैत्री सेवा दिन सुझाव दिएका थिए ।
जगदम्बाले बिगत ७ वर्ष अघिदेखि पोखरा–काठमाडौं र मोर्डन ईरा टुर्स एण्ड ट्राभल्समार्फत पोखरा–दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न…






