कास्की २ : ब्यालेटको लडाईंमा जनसेनाका कमाण्डर किरण थापा (आमोद), भुईंमान्छेको मनसँगै मत पाउने आशा


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, माघ १८

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की २ मा किरण भनेर चिनिने हेमबहादुर थापा (आमोद)लाई उम्मेदवार बनाएको छ । भुईंमान्छेको नेताका रुपमा छवी बनाएका उनी दोस्रो पटक संसदीय निर्वाचनमा होमिएका हुन् । यसअघि २०७४ सालको चुनावमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट चुनाव लडेका उनलाई सफलता भने मिलेन । बुलेटबाट राजनीतिक यात्रा शुरु गरेका उनी अहिले भने व्यालेटबाट लडाईं लडिरहेका छन् ।

बौद्दिक नेतृत्व र भुईंमान्छेको नेताको छवी बनाएका उनको जन्म २०४० साल वैशाख १ गते बुबा लीलाबहादुर थापा र आमा गीतकुमारी पराजुलीको कोखबाट जन्मिएका थिए । बुबा तत्कालीन उपप्रधानपञ्च भएका कारण घरमै राजनीतक र समाजसेवाको वातावरण पाएका उनी गाउँघरमा देखिएको सामाजिक र जातीय विभेदबिरुद्द लड्न माओवादीमा लागे । कम्युनिष्ट विचारप्रति नकारात्मक धारणा राख्ने परिवार र समाजमा हुर्किएका किरणको सोच ‘जनादेश’ पत्रिकाले बदलिदियो । दाजुहरूले घरमा ल्याएका पत्रिका पढ्दै जाँदा उनले कम्युनिष्ट विचारलाई नयाँ आँखाले हेर्न थाले । यही चेतनाले उनलाई विद्यार्थी आन्दोलन र अन्ततः सशस्त्र संघर्षको मोर्चासम्म डोहो¥यायो।

पढाईमा अब्बल उनी विद्यालय स्तरको पढाईमा कहिले कक्षा प्रथम हुन्थे त कहिले बोर्ड प्रथम । २०५४ सालमा तत्कालीन अखिल क्रान्तिकारीको कालिका मावि आँपुभञ्ज्याङको प्रारम्भिक कमिटी ९प्राक० कमिटीका अध्यक्ष बने । एकैपटक प्राक कमिटीको अध्यक्ष बनेका उनी २०५९÷६० मा अखिल क्रान्तिकारीको कास्की जिल्ला अध्यक्ष बने ।

क्रान्तिकारीमा रहँदा उनले शैक्षिक सुधार र विद्यार्थीको हकहितका लागि अग्रणी मोर्चा सम्हाले । सानैदेखि विद्रोही स्वाभावका उनी तत्कालीन समयमा अखिल क्रान्तिकारीले शैक्षिक शुल्कबिरुद्दको अभियान चलाउँदा आफ्नै बुबाबिरुद्द पनि उभिए । बैचारिक रुपमा दृढ उनी कालिका माविले उठाएको भर्ना शुल्कबिरुद्द उभिए । विद्यालय व्यवस्थापन समितिको सदस्य रहेकाले बुबा भर्ना शुल्क लगाउने पक्षमा हुनुहुन्थ्यो,उनले विगतको स्मरण गर्दै भने,‘म प्राक कमिटीको अध्यक्ष भएका कारण आन्दोलनमा होमियौं, तर पछि पचास प्रतिशत मिनाहा गर्ने शर्तमा आन्दोलन फिर्ता लियौं ।’

छोरा तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीमा लागेको थाहा पाएपछि बुबा, आमा र मामाले उनलाई भारतीय सेनाको लाहुरे बनाउने योजना बनाए । मामा ईण्डियन आर्मीको कर्णेल भएकाले उनकै साथ लगाएर आफूलाई पठाउने थाहा पाएपछि उनले घरबाटै विद्रोह गरे र घर छाडेर जनमुक्ति सेनामा भर्ना भए । २०५८ साल भदौ २३ गते जनमुक्ति सेनामा सहभागी उनी जिल्ला प्लाटुन सदस्यबाट क्रमशः चौथो डिभिजनअन्तर्गत ‘परिवर्तन स्मृति ब्रिगेड’ कम्पनीका राजनीतिक कमिसार र स्पेसल टास्क फोर्स बटालियनका सहायक कमाण्डरसम्म बने ।

ज्नमुक्ति सेनामा सहभागी भएपछि उनको नेतृत्वमा दर्जनौं आक्रमण र प्रत्याक्रमण भयो । कयौं पटकको आक्रमण र प्रत्याक्रमणमा बालबाल बचेका उनी भन्छन्,‘ती घटनाहरु सम्झँदामात्रै पनि आङ्ग सिरिङ्ग हुन्छ ।’ खुकुरीका धारमा जीवन राखेर हिंडेका उनले कयौं पटक तत्कालीन शाही सेनालाई हायलकायल बनाए । एक पटक त उनले खुकुरीको भरमा सेनाले गिरफ्तार गरेका सहयोद्दा बाबुराम सुवेदीलाई छुटाए । यस घटनाले आफ्नो परिचय नै बदलेको स्मरण गर्दै उनले भने,‘बाबुरामजीलाई सेनाले गिरफ्तार गरेपछि म खुकुरीको भरमा उनीहरुबिरुद्द प्रत्याक्रमणमा उत्रिएँ, र मुश्किलले उहाँलाई छुटाएँ ।’ त्यो प्रत्याक्रमणमा आफूले तत्कालीन शाही सेनाको इजरायली गलील राइफल, एसएमजी र आधुनिक ब्राउनिङ पेस्तोल कब्जा गरेको उनले दाबी गरे । यस घटनालाई पार्टीले ‘चमत्कारिक प्रत्याक्रमण’को नाम दिएको र आफ्नो हाईहाई भएको भन्दै उनी प्रसन्न देखिए । सो गलील हतियार पछि हराएको उनले बताए । सेनाको यो अत्याधुनिक हतियार भएकाले बारम्बार खोजेको तर नपाइएको बताउँदै उनले भने,‘यहि हतियारका बारेमा प्रचण्डले बारम्बार स्पष्टिकरण दिनु परेको थियो । त्यहि राईफलका बारेमा त हो प्रचण्डले कहिले खोलाले बगाएको त कहिले हराएको भन्दै स्पष्टिकरण दिनु परेको ।’ यहि कारबाहीपछि सेनाले आक्रमणको शैली बदलेको थियो । तत्कालीन समयमा सेनाले कोभर्ड ९भेष० माओवादी नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने र सिध्याउने गर्ने गरेको तर सो आक्रमण पछि उक्त आक्रमणको शैली बदलेको उनले स्मरण गरे ।

माओवादी आन्दोलन र सैन्य आक्रमणमा आफूसँगैका कयौंले ज्यान गुमाए । आँखै अगाडि उनले आफ्ना साथी गुमाए । तर उनी कहिल्यै डगमगाएनन् बरु दृढ भएर जनयुद्दमा होमिईरहे । तत्कालीन समयमा पोखरा क्षेत्रमा शैलेसको नेतृत्वमा ११ जना रहेको र त्यसमध्ये गिरफ्तार पनि नपरेको र ज्यान पनि जोगाएका उनी मात्र हुन् । नत्र कोहि सहिद भए भने कोहि वेपत्ता त केहि गिरफ्तार भए । संगठन निर्माण, सैन्य रणनीति र वैचारिक प्रशिक्षण—तीनै क्षेत्रमा दक्ष ‘प्याकेज कार्यकर्ता’का रूपमा उनले गण्डकी क्षेत्रको स्कुलिङ विभागमा रहेर काम गरेको उनको अनुभव छ ।

२०६३ सालपछि किरण राजनीतिको मूलधारमा फर्किए । सेनामा गएको भए उनी सायद मेजर बन्थे । तर पार्टीले उनलाई राजनीतिमा लैजाने निर्णय ग¥यो । उनी सहर्ष स्विकारेर तत्कालीन नेकपा ९माओवादी० कास्की क्षेत्र नम्बर ३ का इञ्चार्ज बने । पार्टीको निर्णय पनि यहि थियो,उनले भने,‘मेरो रुची पनि पद भन्दा सेवा गर्नेमै थियो । त्यहि कारण म बुलेट छाडेर राजनीतिमा होमिएँ ।’ जीन्दगीमा केहि यस्ता घटनाहरु छन् जुन उनको जिन्दगीमा यादगार बनेर रहेको छ । बुबासँग छेउमा जान र बोल्न डराउने उनी बुबाको राजनीतिक दृष्टिकोण भन्दा फरक बाटोमा उभिए । बुबा राजतन्त्रसहितको प्रजातन्त्र चाहन्थे तर उनी गणतन्त्र । फरक बाटो भए पनि एक दिन दुबैको मिल्यो, जुन दिन देश गणतन्त्रमा जाने सुनिश्चित भयो । एक दिन विद्यालयमा कार्यक्रम भइरहेको थियो,त्यो यादगार क्षण ताजा स्मरण गर्दै भने,‘त्यो दिन तत्कालीन पुर्नस्थापित संसदले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको घोषणा गरिरहँदा बुबाले एक्कासी मसँग आएर हात मिलाउनु भयो । त्यो मेरो लागि अविस्मरणीय र यादगार क्षण थियो । छाती गर्वले फुलिरहेको थियो ।’

पार्टी मूलधारको राजनीतिमा आएपछि पदको हानथाप भयो । पद, प्रतिष्ठा र आर्थिक लाभमा नेता, कार्यकर्ता फस्दा उनी सँधै निस्कलंक रहे । कहिल्यै पदको लागि लडेनन्, नत कहिल्यै आर्थिक लाभका लागि मरिहत्ते गरे । बरु पार्टीले नेताको सम्पती पार्टीकरण गर्ने भनेपछि उनले आफ्नो ६ रोपनी जग्गाको लालपुर्जा पार्टीलाई बुझाए । उक्त घटना स्मरण गर्दै उनले भने,‘एक पटक पार्टीले नेताको सम्पती पार्टीकरण गर्ने भनेर निर्णय ग¥यो । मैले घरमा गएर बुबाआमासँग अंश मागेँ र ६ रोपनी जग्गाको लालपूर्जा पार्टीलाई बुझाएँ । तर तत्कालीन समयमा पार्टीले सो निर्णय लागु नगर्ने नीति लिएपछि सो लालपुर्जा फिर्ता गरेँ ।’

त्याग, र संघर्षको मैदानबाट फर्किएका किरण मूलधारको राजनीतिमा आएपछि विकास र शैक्षिक सुधारमा सक्रिय भए । पोखरामा शैक्षिक सुधार र विकास भएको ठाउँमा किरणको योगदान नभएको सायद कुनै ठाउँ होला । पोखरा–३३ को दम्सादी खोलामा झोलुङ्गे पुल निर्माणमा होस् वा पुँडीटारको पुल निर्माणमा उनको अगुवाई रह्यो । उसो त सरस्वती टीका बहुमुखी क्याम्पसको संस्थापक अध्यक्ष भएर उनले त्यहाँ भवन निर्माणदेखि शैक्षिक उन्नयनको जग बसाले । गुप्तेश्वर क्याम्पसको भवन निर्माणमा समेत उनको भूमिका उल्लेखनीय छ । जसमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको सिफारिसमा भवन निर्माणका लागि बजेट पारेको उनले बताए ।सहयोग उल्लेखनीय

पृथ्वीनारायण क्याम्पस र जनप्रिय क्याम्पसका सञ्चालक समिति सदस्य, सिद्ध मावि र कालिका माविका सल्लाहकारका रूपमा उनी आज पनि शैक्षिक क्षेत्रमा डटिरहेका छन् । उनी आज पर्यन्त समाज रुपान्तरणको अग्रणी मोर्चा राजनीति नै हो भन्नेमा दृढ छन् । र निश्कर्षमा भन्छन्,‘सामाजिक न्याय र समतामूलक समाजवादले नै हो समुन्नत समाजको सपना पूरा गर्ने । त्यसको नेतृत्व नेकपा र हामीजस्तै योद्दाहरुले गर्ने हो । एक दिन एक दिन त्यो सपना पूरा गरेरै छोड्छौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।