नासा नेपालद्वारा नवनिर्वाचित प्रतिनिधी सभा सदस्यको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०८२ मा प्रकाशित




नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले देशको सडक, यातायात, अटोमोबाइल, सडक सुरक्षा, साहसिक खेलकुद तथा दिगो पर्यटन विकासका विषयमा ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू सिन्धुलीका आशिष गजुरेल र बाग्लुङका सोम शर्मा लाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । कार्यक्रममा सांसद गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी विषयमा र अर्का सांसद सोम शर्मालाई साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी विषयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य गजुरेलले आफ्नो शैक्षिक, व्यावसायिक तथा राजनीतिक प्रतिबद्धताअनुसार सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल अटोमोबाइल्स एसोसिएसनप्रति आफ्नो आत्मीयता व्यक्त गर्दै संघका दक्ष, योग्य र क्रियाशील व्यक्तिहरूलाई आगामी सरकारका कदमहरूमा साथ दिन अनुरोध गरे ।

यसैगरी, अर्का सदस्य शर्माले नेपाली खेलकुद, विशेषगरी साहसिक खेलकुद क्षेत्रमा आफ्नो सक्रिय नेतृत्व रहने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि नासा नेपाल र अल्पाइन स्पोट्र्स फेडेरेसन–नेपालका पदाधिकारीहरूको सहयोग र समर्थनको अपेक्षा राखे । साथै, उनले गण्डकी प्रदेश र बाग्लुङलाई नेपाली साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रका रूपमा विकास गर्न आफू क्रियाशील रहने प्रतिबद्धता जनाए ।

अल्पाइन स्पोट्र्स फेडेरेसन–नेपालसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा संघका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषद्(राखेप) की कार्यकारी सदस्य सुवर्ण केशरी श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, संघका उपाध्यक्ष अनिल कुमार बराल र सिताराम न्यौपाने, अल्पाइन स्पोट्र्स फेडेरेसन–नेपालका अध्यक्ष गोविन्द भट्टराई, रोड सेफ्टीका पिएचडी स्कलर भगवती सेढाई, कर्णाली अल्पाइन स्पोट्र्स फेडेरेसनका अध्यक्ष देविकृष्ण रोकायाले बधाई तथा शुभकामना दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।