पोखरामा ‘दोस्रो वाडा अटो सो’ शुरु, भिन्टेज कार मुख्य आकर्षण


     एभरेस्ट आवाज    
     चैत्र ११ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, चैत ११

पोखरामा ‘नाडा प्रेजेन्ट्स दोस्रो वाडा अटो शो’ शुरु भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन (वाडा)को आयोजनामा पोखराको लेकसाइडमा रहेको तालबाराही चोकस्थित खेल मैदानमा चैत १५ गतेसम्म हुने वाडा अटो सो को गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे ।

वाडा अटो शो मा २० वटा स्टलहरु राखिएका छन् । जहाँ १६ ब्राण्डका चार पाङग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एसेसरिजहरुका स्टल रहेको वाडाका अध्यक्ष दीपेन्द्र कोईरालाले जानकारी दिए । उनका अनुसार अटो सो मा एम्पेयर, एथर, अक्वेल, बिवाईडी, चेरी, वान्डा, चेतक, दीपाल, डोन्फेङ, फर्थिङ, ग्यारो, हुण्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल ईसुजु, सुजुकी, टाटा, टिभिएस, एक्सप्रेस–टी, यामाहा, जोन्टेसलगायतका प्रख्यात ब्राण्डका सवारीहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।

अटो सो को अवसरमा कम्पनीहरुले विशेष छुट घोषणा गरेका छन् । प्रत्येक कम्पनीले ५० हजारदेखि एक लाखसम्म छुटको घोषणा गरेको वाडाका महासचिव विनय थापाले जानकारी दिए । ‘त्यसबाहेक अन्य एसेसरिज, वीमालगायत पनि छुट दिनेछन्’–उनले भने ।

अटो सोको अवसरमा भिन्टेज कार प्रदर्शनीमा राखिएका छन् । बतास ब्रदर्सका सञ्चालक आनन्दराज बतासको विशेष सहयोगमा ४० वर्ष पुराना करीब ८ वटा गाडीहरु प्रदर्शनीमा राखिएको हो । उनले भने,‘यी भिन्टेज गाडीहरु अटो सो को आकर्षणका रुपमा छन् ।’

अटो सो मा रोवोट प्रदर्शनीलगायत पनि आकर्षणका रुपमा रहेको बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए । ‘अत्याधुनिक प्रविधि विकास एवम् नवप्रवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउनका लागि रोबोटहरु पनि प्रर्दशनमा राखेका छौं’–उनले भने । उनका अनुसार युनी ट्री जि वान ह्युमानोइड रोबोट, युनीट्री गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिएका छन् ।

अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यवसायीक वातावरण निर्माण गर्दै आन्तरिक पर्यटनमा टेवा पुर्याउन अटो शोको उद्देश्यले अटो सो आयोजना गरिएको वाडाले जनाएको छ ।

५ दिनसम्म चल्ने अटो शोमा ४५ हजार मानिसहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।