पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण सम्पन्न भएको छ ।
पोखराको सेती पुल भने निर्माणाधीन छ । उक्त पुलको भौतिक प्रगति ५८दशमलव ३७ प्रतिशत पुगेको आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माण पूरा भइसकेको प्रमुख कुँवरले बताए । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ ।
पोखरा–मुग्लिन सडकको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला, कास्कीको कोत्रेखोला र विजयपुर खोलामा पुल निर्माण सकिएको हो । पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नति सुरु गरिएको थियो । गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड जामुने–मुग्लिनको काम सकिएको छ । कास्कीको सेती पुलदेखि तनहुँको जामुने जोड्ने पश्चिम खण्डमा पनि सडक विस्तार तथा स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।
पश्चिम खण्डका प्रमुख कुँवरका अनुसार सडकतर्फको भौतिक प्रगति ७७ दशमलव ४७ प्रतिशत र वित्तिय प्रगति ६२ दशमलव २० प्रतिशत पुगेको छ । कुल ३८ दशमलव ७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव २८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६ दशमलव ३२ किमिको सर्भिस लेनमा हालसम्म १७ दशमलव ६६ किमी कालोपत्र भइसकेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







