चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०८३ मा प्रकाशित




नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।

काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् । काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा देवले चिकित्सकहरूले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने जस्ता कार्य सामाजिक सञ्जालबाट नगर्न आग्रह गरे ।

सामाजिक सञ्जालमा चिकित्सकले गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्नाको साथै गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना उच्च हुने भएकाले चिकित्सकलाई त्यस्तो कार्य नगर्न काउन्सिलले अनुरोध गरेको हो । रजिष्ट्रार डा देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको उचित परीक्षण आवश्यक जाँच र चिकित्सकको प्रत्यक्ष मूल्याङ्कन विना औषधि सेवन गर्न सुझाव दिनु र त्यस्तो सल्लाहले विरामीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने, अनावश्यक जटिलता बढ्न सक्ने तथा दीर्घकालीन हानि पुग्न सक्ने बताए ।

काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको मात्र परामर्शमा औषधि लिन अनुरोध गरेको छ । काउन्सिलले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न र गर्नुपर्ने अवस्था भएका बिरामीको अनुहार र पहिचान नखुलाउन आग्रह गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।