तमु साँस्कृतिक प्रतिष्ठानको रजत जयन्ती समापन कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ १० गते २०८३ मा प्रकाशित




तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा संस्थाको “रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन एवम् छात्रवृत्ति वितरण कार्यक्रम” पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।

२५ औं बर्ष पूरा भएको अवसरमा संस्थाको स्थापना कालदेखिका तथ्यांकहरु, विभिन्न प्रबुद्ध व्यक्तिहरुको लेखरचना र विभिन्न व्यवसायीहरु एवम् शुभचिन्तकज्युहरुको विज्ञापन तथा शुभकामनाहरु समेटिएको स्मारिका विमोचन भएको यस कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती तमुको प्रमुख अतिथ्यता रहेको थियो । प्रमुख अतिथि तमुले संस्थाले शैक्षिक क्षेत्रमा गरेको यो महत्वपूर्ण योगदानले तमु समुदायलाई मात्रै नभइ राष्ट्रलाई नै टेवा पुर्याइएको कुरा व्यक्त गरे । कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र पर्वतका ६४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको यस कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका निवर्तमान का.बा. अध्यक्ष एवम् वातावरण विद् जुद्व तमु, डाइमण्ड बिद्विष्ट सेन्टर यु.के. का संस्थापक अध्यक्ष एवम् साहित्यकार सुमलकुमार तमु, संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार संयोजक चिजकाजी तमु, संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर तमुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाको औचित्य र गतिविधि समेटिएको श्रव्य दृश्य सामाग्री प्रदर्शन गरेको यस कार्यक्रममा अक्षयकोष दाताहरु सुमलकुमार तमु र तमु समाज वेल्जियमलाई कदरपत्र प्रदान गर्नुको साथै चेक हस्तान्तरण गरिएको थियो । २५० भन्दा बढीको सहभागिता रहेको यो कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुको नृत्य प्रदर्शनले थप रौनक र भरपुर मनोरञ्जन भएको थियो । लगभग ३ दशक अगाडि जापनमा कार्यरत कर्मठ युवाहरुको अवधारणा सहित गठित यो संस्था २०५८ साल जेठ ७ गते विधिवत रुपमा स्थापना भएको यस संस्थाले रजत जयन्ती मनाउने क्रममा २९ कात्तिक, २०८२ मा “पोखरा महानगर स्तरको मा.वि. स्तरीय निबन्ध प्रतियोगिता” आयोजना गरेको थियो भने ४ पुस,२०८२ मा पुनर्मिलन कार्यक्रम आयोजना गरेको थियो । गत फागुनमा सम्पन्न संस्थाको बार्षिकोत्सव कार्यक्रममा पनि रजत जयन्ती बिशेष कार्यक्रम आयोजना गरि यही ९ जेठ, २०८३, शनिबारका दिन रजत जयन्ती समारोह स्मारिका विमोचन तथा छात्रवृत्ति वितरण गरि एक बर्षे रजत जयन्ती कार्यक्रम समापन गरेको छ ।

संस्थाका अध्यक्ष श्रीजङ तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचिब कन्चन तमुले संचालक गरेका थिए । यस पछिका कार्यक्रमहरु यस शैक्षिकसत्र २०८३ का छात्रवृत्तिका लागि नयाँ विद्यार्थी छनौट गर्न गोर्खा र लमजुङ जाने योजना रहेको र यो बर्ष पूर्वमा ताप्लेजुङ र पश्चिममा गुल्मी जिल्लालाई समेट्ने कुरा संस्थाका अध्यक्ष तमुले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।