पोखरामा निर्वाचन समीक्षा कार्यशाला : आगामी निर्वाचन थप प्रभावकारी बनाउन सुझाव


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०८३ मा प्रकाशित




निर्वाचन व्यवस्थापनलाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षको साझा भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ सम्बन्धी निर्वाचन समीक्षा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले सम्पन्न निर्वाचनको समीक्षा आगामी निर्वाचनलाई थप प्रभावकारी बनाउन उपयोगी हुने बताउनुभयो । निर्वाचन आयोग नेपालको आयोजना तथा यूएनडिपीको सहयोगमा पोखरामा बुधबारदेखि कार्यशाला सुरु भएको हो ।

उनले भदौ २३ र २४ गतेको राजनीतिक घटनापछि प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भएको उल्लेख गर्दै आयोगको पहलमा सरकार र राजनीतिक दलबीच संवाद सुरु भएपछि निर्वाचनको वातावरण बनेको बताए ।

आयुक्त जबराले सरकारको सहयोग, कर्मचारीको दक्षता तथा आयोगको स्पष्ट निर्देशनका कारण निर्वाचन भयरहित, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सफलता मिलेको दाबी गरे । आगामी फागुन तथा वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीमा कर्मचारी, राजनीतिक दल र सरोकारवाला सबैले सक्रिय भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरे ।

कास्की जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले निर्वाचनलाई राष्ट्रिय पर्वको संज्ञा दिँदै नागरिक र सम्बद्ध पक्षको सक्रिय सहभागिताले निर्वाचनको विश्वसनीयता बढाएको बताए । कास्कीमा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतान्त्रिक प्रक्रियालाई सही दिशामा अघि बढाउने आधार बनेको उनको भनाइ थियो ।

निर्वाचन आयोगका सहसचिव राजेन्द्रकुमार केसीले समीक्षा तथा छलफलबाट प्राप्त सुझाव आगामी निर्वाचनका लागि मार्गदर्शन बन्ने भएकाले सहभागीलाई स्पष्ट धारणा राख्न आग्रह गरे ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विषम परिस्थितिका बीच पनि निर्वाचन शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न हुनु जनचेतनाको सकारात्मक प्रभाव भएको बताईन् । प्रविधिको प्रयोग, दक्ष कर्मचारी, राजनीतिक दल र आमनागरिकको सहयोग निर्वाचन सफलताको मुख्य आधार बनेको उहाँले उल्लेख गरिन् ।

कार्यक्रममा निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी समीक्षात्मक प्रस्तुति दिएका थिए।

कार्यशालामा निर्वाचन व्यवस्थापन, निर्वाचन योजना तथा स्रोत व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा समावेशिता, निर्वाचन कानून तथा आचारसंहिता, समन्वय, निर्वाचन प्रविधि तथा सूचना व्यवस्थापनलगायत विषयमा समूहगत छलफल गरिएको थियो ।

निर्वाचन आयुक्त सगुन शमशेर जबराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले गरेका थिए।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, ११ जिल्लाका निर्वाचन अधिकारी, मतदान अधिकृत, पर्यवेक्षण संस्थाका प्रतिनिधि, मतदान शिक्षा स्वसेविका, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।