पोखरा बहुमुखीको राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न, ४० अनुसन्धानपत्र प्रस्तुत


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०८३ मा प्रकाशित




पोखरा, १६ जेठ । व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदयमान प्रवृत्तिबारे केन्द्रित प्रथम राष्ट्रिय अनुसन्धान सम्मेलन–२०२६ शनिबार पोखरामा सम्पन्न भएको छ।
पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको दुईदिने सम्मेलनमा देशभरका विभिन्न विश्वविद्यालय र क्याम्पससँग आबद्ध प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता तथा विद्यार्थीको सहभागिता रहेको थियो। सम्मेलनमा व्यवस्थापन र सामाजिक विज्ञानसँग सम्बन्धित ४० वटा अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए।
शुक्रबार सुरु भएको सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर डा. महानन्द चालिसेले गरेका थिए। उद्घाटन सत्रमा उनले समाजमा रहेका सामाजिक तथा व्यवस्थापकीय समस्यालाई उजागर गर्न प्राज्ञिक क्षेत्र अझ सक्रिय हुनुपर्ने बताएका थिए। यस्ता सम्मेलनले प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई अध्ययन–अनुसन्धानमा अभिप्रेरित गर्ने उनको भनाइ थियो।
पोखरा बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार शैक्षिक क्षेत्रमा अनुसन्धानलाई तीव्र बनाउँदै राष्ट्रिय तथा स्थानीय तहमा देखिएका समस्याको समाधान खोज्न सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा प्रोफेसर डा. महानन्द चालिसे, प्रोफेसर डा. चन्द्रा भद्रा, गण्डकी विश्वविद्यालयका कुलपति प्रोफेसर डा. इन्द्रप्रसाद तिवारी तथा थाइल्याण्डको सिनावात्रा विश्वविद्यालयका पूर्व डिन एसोसिएट प्रोफेसरले प्रमुख वक्ताका रूपमा प्रस्तुति दिएका थिए।
त्यसैगरी प्यानल छलफलमा प्रोफेसर डा. लेखनाथ भट्टराई, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे तथा ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरी बुढाथोकी सहभागी भएका थिए।
पोखरा बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा भएको उद्घाटन तथा समापन समारोहमा निवर्तमान अध्यक्ष नरेन्द्रमान लालचन, सामुदायिक क्याम्पस संघ गण्डकी प्रदेशका संयोजक श्रीषीराम बुढाथोकी, रिसर्च म्यानेजमेन्ट समिति संयोजक दीपकप्रसाद घिमिरे, सम्मेलनका संयोजक भीमप्रसाद न्यौपाने, अनुसन्धानकर्ताका तर्फबाट डा. टीका ढकाल तथा विद्यार्थी प्रतिनिधि गणेश रामदामलगायतले मन्तव्य व्यक्त गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।