सन्देश श्रेष्ठ
पोखरा, जेठ २०
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित अन्नपूर्ण म्याराथन प्रतियोगितामा नेपाली धावक द्वय दलबहादुर कुँवर र मञ्जु रावत च्याम्पीयन बनेका छन् । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्व कीर्तिमान राखेको ७६ औं वर्षगाँठको अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले बुधबार आयोजना गरेको छैटौं अन्नपूर्ण म्याराथन प्रतियोगितामा पुरुषतर्फ जुम्ली धावक दलबहादुर कुँवर र महिलातर्फ जुम्ली धाविका मञ्जु रावत च्याम्पीयन बनेका हुन् । बिजेता कुँवर जुम्लाका हुन् ।
अन्नपूर्ण हिमाल बेसक्याम्पदेखि घान्द्रुकसम्मको ४२.१९५ मिटरको दुरी रावतले ४ घण्टा ४ मिनेट ११ सेकेण्डमा पूरा गर्दै नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । ४ घण्टा १० मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरेका नेपाली सेनाका तिलकबहादुर सुनुवार उपबिजेता बने । उनले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा ४ घण्टा ४९ मिनेट १२ सेकेण्ड लगाएर दुरी पार गरेका सचिन गुरुङले तेस्रोहुँदै नगद ७५ हजार प्राप्त गरे भने ५ घण्टा १३ मिनेट ५३ सेकेण्ड लगाएका सोमिन गुरुङले चौथोहुँदै ५० हजार जिते । त्यस्तै, ५ घण्टा २५ मिनेट ४३ सेकेण्डमा सो दुरी पार गरेका रोजन सिर्पाली पाचौं भए ।
महिलातर्फ पनि जुम्ली महिलाहरुको बर्चस्व रह्यो । प्रतियोगितामा जुम्लाकी मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेण्डमा दुरी पार गर्दै उपाधि कब्जा गरिन् । च्याम्पीयन बनेकी उनले पनि नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा ६ घण्टा ५७ मिनेट २५ सेकेण्डमा दुरी पार गरेकी राज्यलक्ष्मी रावलले उपबिजेता बन्दै एक लाख तथा ७ घण्टा ५६ सेकेण्डमा दुरी पार गरेकी कल्पना बुढाले तृतीयहुँदै नगद ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने तीनैजना जुम्लाका हुन् ।
‘सबै मौसमका लागि पर्यटन’ नारासहित समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट प्रतियोगिता शुरु भएको थियो । आधार शिविरबाट शुरु भएको म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, हिन्कुकेभ, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानमा आएर समापन भएको अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले बताए । समापन कार्यक्रममा बोल्दै उनले अन्नपूर्ण म्याराथनलाई अन्र्तराष्ट्रिय ईभेन्टका रुपमा विकास गर्नेगरी निरन्तर आयोजना गरिने उद्घोष गरे ।
प्रतियोगिताको सम्पूर्ण प्राविधिक काम हिमालयन एक्सट्रीले गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ २० कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित अन्नपूर्ण म्याराथन प्रतियोगितामा…








