पोखरा । मादी गाउँपालिका–२, ताङतिङमा शिक्षक तथा साहित्यकार ओमप्रकाश गुरुङ द्वारा लिखित उपन्यास ‘एक्लो पहाड’ को भव्य लोकार्पण समारोह सम्पन्न भएको छ। साहित्य, शिक्षा, सञ्चार, संस्कृति तथा स्थानीय नेतृत्वको उल्लेख्य सहभागिताबीच आयोजित समारोहमा उपन्यासलाई औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
प्रमुख अतिथि मादी गा.पा.का उपाध्यक्ष कल्पना गुरुङले उपन्यासको लोकार्पण गर्दै साहित्यिक गतिविधिले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने बताउँदै यस्ता सिर्जनाले स्थानीय इतिहास, पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
विशेष अतिथि यमबहादुर गुरुङ ले भाषा, साहित्य र संस्कृतिको संरक्षणमा यस्ता सिर्जनात्मक कृतिहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। उहाँले ‘एक्लो पहाड’ ले गुरुङ समुदायको मौलिकता, ऐतिहासिक स्मृति तथा सांस्कृतिक विरासतलाई भावी पुस्तासम्म पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्यसहित पुस्तक समीक्षा गर्दै नेपाली भाषा शिक्षक दशरथ सापकोटाले ‘एक्लो पहाड’ लाई पहाडी गाउँको अर्गानिक जीवन, समय, संस्कृति र बदलिँदो सामाजिक यथार्थको सशक्त दस्तावेजका रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार उपन्यासले कास्कीको सिक्लेस, ताङतिङ देखि लमजुङको भुजुङ सम्म फैलिएको ग्रामीण सभ्यताको कथा बोकेको छ।
उहाँले उपन्यासमा गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली, सामाजिक संरचना तथा मानवीय संवेदनाको अत्यन्त सूक्ष्म र जीवन्त चित्रण भएको उल्लेख गर्नुभयो। विशेषगरी पहाडका भेडीगोठ, त्यहाँको खान्की, जंगल र प्रकृतिसँग जोडिएको जीवनशैली, हिमपातले छोपिएका दुःख र ती दुःखबीच पनि रमाइरहेका मानिसहरूको खुसीलाई उपन्यासले गहिरोसँग समेटेको समीक्षा प्रस्तुत गर्नुभयो।
उपन्यासमा ताङतिङ गाउँको आस्थाको धरोहर पाजेपैंगु जस्ता प्रकृतिपूजक परम्परा, लाहुर जाने संस्कृति, सामूहिक खेतीपाती, हुरी, स्याखु, हुरीदोहोरी तथा सामुदायिक जीवनका विविध आयामहरू अत्यन्त आकर्षक ढंगले प्रस्तुत गरिएको बताइयो।
शुभकामना मन्तव्यका क्रममा ए दीपेन्द्र श्रेष्ठ ले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै स्थानीय स्रष्टाहरूका सिर्जनाले समुदायको पहिचान, चेतना र सभ्यतालाई जीवन्त राख्ने बताउनुभयो।
लेखकीय मन्तव्य राख्दै लेखक ओमप्रकाश गुरुङ ले ‘एक्लो पहाड’ केवल कथा मात्र नभई पहाड, समाज, भूगोल, संघर्ष र मानवीय अनुभब र अनुभूतिहरूको दस्तावेज भएको बताउनुभयो। उहाँले आफ्नो शिक्षण अनुभव, समाजको अवलोकन तथा गाउँको बदलिँदो परिवेशप्रतिको गहिरो चिन्ता र चिन्तनलाई कृतिमा अभिव्यक्त गरेको उल्लेख गर्नुभयो।
लेखकका अनुसार उपन्यासमा बुढीगण्डकीदेखि कालीगण्डकीसम्मका लेकाली गुरुङ बस्तीहरूको इतिहास, समाज, अर्थतन्त्र र संस्कृतिको जीवन्त चित्रण गरिएको छ। ताङतिङ गाउँमा विगत आधा शताब्दीमा देखिएका सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनलाई उपन्यासले मसिनोसँग समेटेको छ।
उपन्यासका प्रमुख पात्र खरवीरे र मनकाशी मार्फत लेखकले गुरुङ समुदायको विवाह संस्कृति, चेली–माइती सम्बन्ध, सामूहिक तीर्थयात्रा, दुधपोखरी, ढुङ्गेसाँघु, वैशाखे मेला, माघे सङ्क्रान्ति जात्रा, छेलो, दोहोरी गायन तथा सामुदायिक जीवनका अनेक पक्षहरूलाई कलात्मक रूपमा उतार्नुभएको छ।
विशेष गरी उपन्यासले गाउँ छाडेर सहर पस्ने प्रवृत्ति, खाली हुँदै गएका गाउँ, सुनसान बन्दै गएका बस्ती, रित्तिँदै गएका विद्यालयका कक्षाकोठा तथा हराउँदै गएका परम्परागत संस्कृतिप्रति गम्भीर प्रश्न उठाएको छ।
मादी गाउँपालिका–२ का वडा अध्यक्ष भोजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गुमानध्वज गुरुङ ले गर्नुभएको थियो।
उपन्यास ‘एक्लो पहाड’ पहाडी जीवनको अर्गानिक समय, गुरुङ सभ्यता, परम्परा, संघर्ष र बदलिँदो सामाजिक यथार्थको जीवन्त दस्तावेज बनेर उभिएको छ। यो कृति केवल साहित्यिक सिर्जना मात्र नभई रित्तिँदै गएका पहाडी गाउँहरूको कथा, स्मृति र भावनालाई समेट्ने एक महत्त्वपूर्ण ऐतिहासिक अभिलेखका रूपमा स्थापित भएको सहभागीहरूले बताएका छन्।
हिमालय मिलन मा.बि. ताङतिङका प्रधानाध्यापक एवं सामाजुक अभियन्ता गुरुङको यस अघि मेरो गाँउ ताङतिङ र बहिदार बा पुस्तक प्रकिशित छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय…






