पोखरामा दुई दिने प्रादेशिक सम्मेलन सम्पन्न : गुणस्तरीय प्रारम्भिक बालशिक्षामा जोड


     एभरेस्ट आवाज    
     असार १४ गते २०८३ मा प्रकाशित




पोखरा । रातो बङ्गला फाउन्डेसनको आयोजनामा पोखरामा “गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी?” विषयक दुई दिने प्रादेशिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, कुमुदिनी होम्स तथा रातो बङ्गला स्कुल साझेदार संस्थाका रूपमा रहेका थिए।

पोखरा–४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आयोजित सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब साढे तीन सय शिक्षक, शिक्षाविद् तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सम्मेलनमा गुणस्तरीय प्रारम्भिक बालशिक्षाका लागि स्थानीय तथा राष्ट्रिय अनुभव आदानप्रदान, नीति–व्यवस्था र व्यावहारिक पक्षबारे गहन छलफल गरिएको थियो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले शिक्षाको सुधार तल्लो तहबाटै सुरु हुनुपर्ने बताउनुभयो। उहाँले शिक्षण–सिकाइ प्रणालीले सक्षम, जिम्मेवार र देशका अब्बल नागरिक उत्पादन गर्न सक्नुपर्ने धारणा राख्दै यस्ता सम्मेलन र तालिमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो। साथै, प्रदेश सरकारले यस्ता पहलमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रातो रातो बङ्गला फाउन्डेसनका अध्यक्ष प्रारम्भिक बालशिक्षाबिद् शान्ता दीक्षितले गुणस्तरीय प्रारम्भिक बालशिक्षा बालबालिकाको समग्र विकासका लागि अपरिहार्य रहेको बताउनुभयो। उहाँले बालशिक्षाको सही कार्यान्वयनमा समाज, विद्यालय र अभिभावक सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो।

उहाँका अनुसार बालबालिकाको सिकाइ प्रक्रियामा तीनवटा मुख्य शिक्षक हुन्छन्, पहिलो शिक्षक: अभिभावक दोस्रो शिक्षक: विद्यालयका शिक्षक, तेस्रो शिक्षक: वातावरण ।
दीक्षितले वातावरण भनेको केवल भौतिक संरचना मात्र नभई शिक्षकको व्यवहार, सिकाइ सामग्री, कक्षाकोठाको व्यवस्थापन र बालमैत्री वातावरणसमेत भएको स्पष्ट पार्नुभयो। “बालबालिका आफैंमा एउटा कोपिला हुन्, उपयुक्त वातावरण पाएपछि आफैं फक्रिन्छन्,” उहाँले भन्नुभयो।

उहाँले परम्परागत रटाइ-आधारित शिक्षण शैलीभन्दा अनुभवात्मक, खेलमुखी र बालकेन्द्रित शिक्षण पद्धतिमा जोड दिनुभयो। बालबालिकाले आफ्ना पाँचवटै इन्द्रिय प्रयोग गरेर सिक्न पाउँदा मात्र सिकाइ प्रभावकारी र अर्थपूर्ण हुने उहाँको भनाइ थियो।

सम्मेलनको पहिलो दिन प्रारम्भिक बालशिक्षाको आवश्यकता र यसको वर्तमान अवस्थामाथि केन्द्रित प्यानल छलफल सम्पन्न भएको थियो।फाउन्डेसनका कार्यकारी निर्देशक एलिना सुब्बा द्वारा सहजीकरण गरिएको छलफलमा सरकारी प्रतिनिधि, विज्ञ तथा अभ्यासकर्ताहरू सहभागी थिए।

बाल शिक्षा सहजकर्ता सरिता राणा ले प्रारम्भिक बाल विकास नै जीवनभरको सिकाइको बलियो जग भएको बताउँदै उमेर, मनोविज्ञान र विकास अवस्थाअनुसार शिक्षण पद्धति निर्माण हुनुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकालाई रटाइभन्दा खेल, सिर्जनात्मकता र सक्रिय सहभागितामार्फत सिकाउनु आवश्यक रहेको बताउनुभयो।

बालशिक्षा विज्ञ मिनाक्षी दाहाल ले नेपालको प्रारम्भिक बाल विकास नीति दक्षिण एसियामै उत्कृष्टमध्ये एक भए पनि कार्यान्वयन कमजोर रहेको बताउनुभयो। उहाँले नीति र व्यवहारबीच अझै ठूलो दूरी रहेको उल्लेख गर्नुभयो।

प्रदेश सरकारका शिक्षा महाशाखा प्रमुख प्रकाश देवकोटाले संघीय संरचनाअनुसार बालशिक्षाको प्रत्यक्ष जिम्मेवारी स्थानीय तहको भए पनि प्रदेश सरकारले नीतिगत समन्वय, शिक्षक तालिम तथा मापदण्ड निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो। उहाँले गण्डकी प्रदेशका बाल विकास केन्द्रहरूको गुणस्तर सुधार र शिक्षकहरूको मनोबल अभिवृद्धिका लागि थप कार्यक्रम ल्याइने बताउनुभयो।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरेले केन्द्रले खेल, कला र स्थानीय सामग्रीमा आधारित एकीकृत पाठ्यक्रम विकास गरिरहेको जानकारी दिनुभयो। उहाँले प्रारम्भिक बालशिक्षामा अक्षर र अङ्क सिकाउन हतार गर्नुभन्दा सामाजिक, भावनात्मक र शारीरिक विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

छलफलको निष्कर्षमा तीनै तहका सरकार, पाठ्यक्रम निर्माता, विज्ञ र विद्यालयहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो।

दोस्रो दिन शनिबार सहभागीहरूलाई समूहमा विभाजन गरी छलफल, कार्ययोजना निर्माण तथा प्रस्तुति कार्यक्रम सञ्चालन गरिएको कुमुदिनी होम्स बि.व्य.स. का अध्यक्ष अशोक पालिखेले जानकारी दिनु भयो ।

कार्यक्रमको समापनमा आयोजकका अर्चना जोशी ले सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो। २०५९ सालमा स्थापना भएको रातो बङ्गला फाउन्डेसन ले विगत लामो समयदेखि विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक तालिम, अभिभावक शिक्षा, शैक्षिक सामग्री सहयोग, विद्यालय पुनर्निर्माण तथा कक्षाकोठा व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। फाउन्डेसनले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।