ओलम्पिक दिवसका अवसरमा पोखराका १२ संस्था सम्मानित


     एभरेस्ट आवाज    
     असार १९ गते २०८३ मा प्रकाशित




पोखरा, असार १९। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस–२०२६ को अवसरमा पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा सहयोग पुर्याउने १२ वटा संस्थालाई सम्मान गरिएको छ।

नेशनल ओलम्पिक एकेडेमी नेपालद्वारा शुक्रबार आयोजित कार्यक्रममा आदर्श समाज राष्ट्रिय दैनिक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, समाधान राष्ट्रिय दैनिक, ढोरपाटन राष्ट्रिय दैनिक, क्रिष्टल मन्टेश्वरी, अन्नपूर्ण एफएम, सराङकोट एफएम, एभरेष्ट एफएम, माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय, हिल प्वाइन्ट माध्यमिक विद्यालय, नागरिक समाज वडा नं. ५समय नेपाल टिभीलाई सम्मान गरिएको हो।

नेशनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत एकेडेमीको पहलमा प्रदेश खेलकुद परिषद् गण्डकी, कास्की जिल्ला खेलकुद विकास समिति तथा पश्चिम पृतना हेडक्वार्टर विजयपुरको सहकार्यमा खेलकुदमा माइन्डफुलनेस मेडिटेशन तथा ओलम्पिक आन्दोलन र इतिहाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो।

यसै अवसरमा नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा तथा पोखरा महानगरपालिका वडा नं. १ को विशेष सहयोगमा ५ किलोमिटर सडक दौड प्रतियोगिता पनि सम्पन्न गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।

सम्मान कार्यक्रममा नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ, सचिव महेश पौडेल, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख पुष्कर भट्टराई, मञ्चका सल्लाहकार संयोजक दिलबहादुर गुरुङ, सल्लाहकारहरू अशोक पालिखे र नारायण कार्की, प्रथम उपाध्यक्ष खेम गुरुङ, द्वितीय उपाध्यक्ष कृष्ण तिमिल्सिना तथा आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्ण बास्तोलालगायतको उपस्थिति रहेको थियो।

यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक दिवसकै अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मोफसलमा क्रियाशील नेपाल भूतपूर्व खेलाडी मञ्चलाई प्रतिष्ठित एनओसी प्रेजिडेन्सियल अवार्ड प्रदान गरिएको थियो। त्यस्तै, मञ्चका आजीवन सदस्य तथा पोखराका फोटो पत्रकार सुदर्शन रञ्जित ‘एनओसी बेस्ट क्यामेरापर्सन अवार्ड–२०२६’ बाट सम्मानित भएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।