ल्हा म्हेन्दो तामाङ समाज लण्डनको अध्यक्षमा विशाल स्याङ्बो तामाङ


     एभरेस्ट आवाज    
     असार २१ गते २०८३ मा प्रकाशित




लण्डन, बेलायत। ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेलाले विशाल स्याङ्बो तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। भेलाले समाजलाई एकीकृत तामाङ घेदुङ यूकेको केन्द्रीय समितिअन्तर्गत शाखाका रूपमा आबद्ध गराउने ऐतिहासिक निर्णयसमेत गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुमन वाइबा, महासचिवमा सुदीप लोप्चन, सचिवमा सूरज स्याङ्बो र सूरज ग्लान, कोषाध्यक्षमा बिपना पुन तामाङ तथा सदस्यमा हरि नेगी, विशाल योञ्जन र सुसा पन्नाचन तामाङ चयन भएका छन्।

समाजका अध्यक्ष आइतसिंह मम्बा तामाङको अध्यक्षतामा सम्पन्न भेलामा लण्डन बरो अफ हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ विशेष अतिथि रहेका थिए।

भेलामा एकीकृत तामाङ घेदुङ यूकेसम्बन्धी विशेष छलफलपछि लघु जनमत सङ्ग्रह (मिनी रेफरेन्डम) गरिएको थियो। जनमत सङ्ग्रहमा एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने पक्षमा स्पष्ट बहुमत प्राप्त भएपछि समाजले उक्त संस्थाको केन्द्रीय समितिअन्तर्गत शाखाका रूपमा रहने निर्णय गरेको हो।

जनमत सङ्ग्रहअघि समाजका पूर्व अध्यक्ष सूरज थोकरले पावरपोइन्ट प्रस्तुतीमार्फत एक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लण्डन बरो अफ हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ तथा विशेष अतिथि नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङले ल्हा म्हेन्दो तामाङ समाजले बेलायतस्थित तामाङ समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान संरक्षण र सामुदायिक एकतामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भन्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

समर भेलामा कलाकार शिवदास गुरुङको सांस्कृतिक प्रस्तुति, राफल ड्र र बिङ्गो कार्यक्रम पनि आयोजना गरिएको थियो। आयोजकका अनुसार उल्लेख्य सहभागितासहित सम्पन्न भेलाले बेलायतस्थित तामाङ समुदायबीचको एकता र सहकार्यलाई थप मजबुत बनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।