ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेला सम्पन्न, विशाल स्याङ्बो तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन,


     एभरेस्ट आवाज    
     असार २१ गते २०८३ मा प्रकाशित




लण्डन, बेलायत। ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेला समाजका अध्यक्ष आइतसिंह मम्बा तामाङको अध्यक्षतामा भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट तामाङ समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि लण्डन बरो अफ हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ तथा विशेष अतिथि नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ रहनुभएको थियो। उहाँहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै ल्हा म्हेन्दो तामाङ समाज आकारका हिसाबले सानो संस्था भए पनि बेलायतस्थित तामाङ समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान र संस्थागत एकताका लागि निरन्तर अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो। साथै, एकीकृत तामाङ अभियानमा समाजले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि समुदायबीचको एकतालाई थप सुदृढ बनाउन आग्रह गर्नुभयो।

कार्यक्रमकै अवसरमा समाजको नयाँ ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा विशाल स्याङ्बो तामाङ, उपाध्यक्षमा सुमन वाइबा, महासचिवमा सुदीप लोप्चन, सचिवमा सूरज स्याङ्बो र सूजेन ग्लान, कोषाध्यक्षमा बिपना पुन तामाङ तथा सदस्यहरूमा हरि नेगी, विशाल योञ्जन र सुसा पन्नाचन तामाङ चयन हुनुभएको छ।

समर भेलाको प्रमुख आकर्षणका रूपमा एकीकृत तामाङ घेदुङ यूके सम्बन्धी विशेष छलफल तथा लघु जनमत सङ्ग्रह (मिनी रेफरेन्डम) सम्पन्न गरिएको थियो। जनमत सङ्ग्रहअघि समाजका पूर्व अध्यक्ष सुरज थोकरले पावरपोइन्ट प्रस्तुतीमार्फत एकीकृत तामाङ अभियानको आवश्यकता, उद्देश्य र भावी कार्यदिशासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

त्यसपछि सम्पन्न मतदानमा एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने पक्षमा स्पष्ट बहुमत प्राप्त भएपछि ल्हा म्हेन्दो तामाङ समाज लण्डनले आधिकारिक रूपमा एकीकृत तामाङ घेदुङ यूकेको केन्द्रीय समितिअन्तर्गत शाखा संस्थाका रूपमा आबद्ध हुने ऐतिहासिक निर्णय गरेको छ। सहभागीहरूले यस निर्णयलाई बेलायतस्थित तामाङ समुदायको संस्थागत एकता, सहकार्य र साझा पहिचानलाई अझ सुदृढ बनाउने महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

कार्यक्रममा कलाकार शिवदास गुरुङले आकर्षक सांस्कृतिक प्रस्तुति दिनुभएको थियो। साथै विविध राफल ड्र तथा बिङ्गो कार्यक्रमले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।

उल्लेखनीय सहभागिता, सौहार्दपूर्ण वातावरण र समुदायप्रतिको साझा प्रतिबद्धतासहित सम्पन्न भएको वार्षिक समर भेलाले बेलायतस्थित तामाङ समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक संरक्षणप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।