पोखरा-दुबई उडानलाई दीगो बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरदेखि नीजि क्षेत्रसम्मले सघाउने


     एभरेस्ट आवाज    
     असार २२ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असार २२

पोखरा–दुबई उडान दीगो बनाउन फ्लाई दुबईले सरकार र नीजि क्षेत्रको साथ खोजेको छ । सेप्टेम्बर २३ (असोज ७) गतेदेखि पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भन्दै टिकट बुकिङ खुल्ला गरेको फ्लाई दुबईले यसलाई दीगो बनाउन तीन तहको सरकारसँगै नीजि क्षेत्रको पनि साथ खोजेको हो ।

फ्लाई दुबईले उडान शुरु गर्ने निश्चित भए पनि यसको निरन्तरताबारे चासो र चिन्ता शुरु भएको छ । यसअघि पोखराबाट छेन्दु र सिचुआन तथा भुटानको थिम्पु उडान शुरु भए पनि नियमित हुन सकेन । जसले गर्दा पोखरा–दुबई पनि दीगो नहुने हो कि भन्ने आशंका र चिन्ता छ । यो चिन्ता पोखरेलीलाई मात्रै होईन, स्वयम् फ्लाई दुबईका पदाधिकारीमा पनि देखिएपछि उसले सरकार र नीजि क्षेत्रको साथ खोजेको देखिन्छ । यहि अभियान अन्तर्गत फ्लाई दुबईको टोली पोखरा आएर सरकार र नीजि क्षेत्रको टोलीसँग भेटघाट गरेको छ ।

आईतबार पोखरा आएको सो टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमाल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यदेखि नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश प्रमुख मणीराज लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुुमानसिंह गुरुङसम्मलाई भेटेर आफ्नो चासो व्यक्त गरेको छ । त्यस्तै, टोलीले नीजि क्षेत्रतर्फ पोखरा उद्योग वाणिज्य संघ, नाट्टा, हान, टान, रेवान र एनवाईईएफसँगको टोलीलाई पनि भेटेको छ ।

मुख्यमन्त्री, मन्त्री तथा महानगरका मेयरसँगको भेटमा फ्लाई दुबईको टोलीले सरकारले दिने छुट र श्रम स्वीकृति पोखराबाटै दिनेबारे चासो व्यक्त गरेको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाईन्सलाई सरकारले हवाई ईन्धनमा १ सय डलर छुट दिने घोषणा गरेको छ । त्यसबाहेक विमान उडान र अवतरणमा एक वर्षसम्म शतप्रतिशत छुट, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँचमा शुल्कमा छुट दिने बताएको छ । तर यो छुट दिने अवधी आगामी सेप्टेम्बर १७ मा सकिने भएकाले त्यसबारे फ्लाई दुबईको टोलीले चासो व्यक्त गरेको हो । उसले सो अवधी कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्म बढाएमा मात्रै अन्र्तराष्ट्रिय उडान दीगो बन्ने भन्दै अवधी लम्ब्याउनका लागि पहल गरिदिन आग्रह गरेको छ । भेटमा फ्लाई दुबईका लागि नेपालका जनरल म्यानेजर नवराज शाहीले छुट नदिए तत्काल उडान शुरु गरे पनि पछि निरन्तरता दिन कठीन हुने बताएका थिए । उनले भने,‘हामी उडानका लागि तयारी अवस्थामा छौं, तर यसलाई दीगो बनाउनका लागि छुट अनिवार्य भएकाले त्यसका लागि चाँडो निर्णय गरिदिनुप¥यो ।’

त्यस्तै, फ्लाई दुबईको टोलीले पोखराबाटै श्रम स्वीकृतिका लागि पहल गरिदिन पनि मुख्यमन्त्रीदेखि मेयरसम्मलाई आग्रह गरेको छ । श्रम स्वीकृति पोखराबाटै हुने भएमा उडान नियमित गर्न सहज हुन्छ, भेटमा शाहीले भने,‘श्रम स्वीकृति लिन काठमाडौं नै पुग्नुपर्ने बाध्यता रहिरह्यो भने पोखराबाटै उड्नुपर्छ भन्ने नरहन पनि सक्छ, त्यसैले पोखराबाटै श्रम स्वीकृति दिने व्यवस्थाका लागि हजुरहरुले पहल गरिदिनु प¥यो ।’ त्यसबाहेक पोखरा–दुबई उडानको प्रवद्र्धन, प्रचारप्रसारलगायतमा पनि सहयोग गर्न उसले आग्रह गरेको छ ।

जवाफमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराबाट अन्र्तराष्ट्रिय उडानका लागि आवश्यक सबै सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । हामी पोखराबाट अन्र्तराष्ट्रिय उडान नियमित होस् भन्ने चाहन्छौं,उनले भने,‘त्यसका लागि हामी हाम्रो प्रदेशबाट गर्नुपर्ने सबै सहयोग गर्छौं र नजिकका प्रदेशका नागरिकलाई पनि पोखराबाटै उड्नका लागि प्रेरित गर्न आवश्यक पहलकदमी लिनेछौं ।’ उनले सरकारी छुट नियमित गर्नुका साथै श्रम स्वीकृति पोखराबाटै लिने व्यवस्थाका लागि पनि पहल गर्ने आस्वासन दिए ।

उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले पनि पोखरा–दुबई उडानपछि पोखराको पर्यटनले फड्को मार्ने विश्वास व्यक्त गर्दै सो उडानलाई दीगो बनाउन आवश्यक पहल गर्ने आस्वासन दिईन् । भनिन्,’हामीले हाम्रोतर्फबाट आवश्यक सबै सहयोग गर्छौं, तपाईंहरुले पनि सरकारले दिएको सहयोग अनुरुप यात्रुलाई विभिन्न छुट दिएर आकर्षित गर्नूस् ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि फ्लाई दुबईका प्रतिनिधिलाई पोखरा–दुबई उडानलाई दीगो बनाउन सुझाव दिए । त्यसका लागि महानगरले आवश्यक सबै सहयोग गर्ने र संघ र प्रदेश सरकारले गर्नुपर्ने सहयोगका लागि पहल गर्ने आस्वासन दिए ।

नीजि क्षेत्रसँगको भेटमा भने फ्लाई दुबईको टोलीले व्यवसायीक साझेदारीदेखि पोखरा–दुबई उडानका लागि प्रचारप्रसार गरिदिन आग्रह गरेका थिए । उद्योगी, व्यवसायीले पनि यो उडान पोखराका लागि महत्वपूर्ण भएकाले सहयोग गर्ने वचन दिए । नीजि क्षेत्रको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा–दुबई उडानका लागि आवश्यक सबै सहयोग गर्ने बताए । भने,‘यो तपाईंहरुका लागि जति आवश्यक छ, त्यत्ति नै हाम्रो लागि पनि आवश्यक छ । त्यसैले पोखराको दीगो पर्यटनमा सघाउने यसलाई दीगो बनाउन हामी मन, वचन र कर्मले सहयोग गर्छौं ।’

पोखरामा सरकार र नीजि क्षेत्रसँगको भेटपछि फ्लाई दुबईको टोली उत्साहित भएर फर्केको छ । तर मौखिक आस्वासन पाएको सो टोलीले चाँडै औपचारिक निर्णय लिखित भएर आओस् भन्ने अपेक्षा गरेको छ । पोखरा–दुबई उडानका लागि माहोल बनाउन पोखरा आएको सो टोली मुख्यमन्त्री, मन्त्री, मेयरदेखि नीजि क्षेत्रसम्मले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएपछि उत्साहितहुँदै फर्किएको पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । भेटघाटका लागि समन्वय गरेका उनले भने,‘उहाँहरु पोखरा–दुबई उडानका लागि वातारण बनेको निश्कर्षसहित उत्साही भएर फर्किनुभएको छ । तर चाँडै औपचारिकतामा बदलियोस् भन्ने उहाँहरुको चाहना छ ।’

सेप्टेम्बर २३ देखि उडान शुरु गर्ने फ्लाई दुबईले एक महिना दैनिक एउटा फ्लाईट गर्ने उडान तालिका बनाएर अनुमति लिइसकेको छ । सन २०२७ सम्मकै लागि टिकट बुकिङ गरिरहेको फ्लाई दुबईका नेपाल जनरल म्यानेजर नवराज शाहीले जानकारी दिए । उनले दुबईबाट पोखरा आउनका लागि टिकट लिनेको संख्या राम्रो भएको बताए । तर पोखराबाट दुबई जानका लागि थोरैले मात्रै टिकट बुकिङ गरेको भन्दै उनले भने,‘त्यसैले पोखराबाट दुबई जानेहरुको संख्या बढाउन प्रचारप्रसारमा लाग्न नीजि क्षेत्रलाई आग्रह गरेका छौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।