साउन १
रूपा गाउँपालिकाबाट पोखरातर्फ आउँदै गरेको सार्वजनिक बसमा एक महिला यात्रुको पर्स चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट चोरी भएको पर्सभित्र रहेको सुनजस्तो देखिने हार र चाँदीका औँठीसमेत बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार दिउँसो करिब ३ बजे रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा सवार स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ राङ्खोला निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स चोरी भएको थियो।
घटनाको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आरोपमा रौतहटको चन्द्रपुर नगरपालिका–१५ का ४२ वर्षीय गुरु प्रसाद बजगाई, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ घर भई हाल पोखरा–९ शान्तिवन बस्ने ३४ वर्षीय रविन खड्का र झापाको कनकाई नगरपालिका–८ घर भई हाल पोखरा–६ खहरे बस्ने ४५ वर्षीय टेकबहादुर भुजेल ‘सूर्य’ लाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट चोरी भएको पर्सभित्र रहेको सुनजस्तो देखिने पहेँलो रंगको हार ‘टुक्रा–टुक्रा बनाई बाँडिएको अवस्थामा’ र चाँदीका दुई वटा बेरुवा औँठी बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले…





