काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर गुरुपूर्णिमा मनाइँदै छ। आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई वैदिक परम्परामा व्यास जयन्तीका रूपमा पनि लिइन्छ।
वैदिक धर्मग्रन्थ महाभारत का रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा सुरु भएको मानिने गुरुपूर्णिमा शिक्षा, दीक्षा र संस्कार प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता प्रकट गर्ने दिनका रूपमा मनाइन्छ। परम्पराअनुसार शिष्यहरूले आफ्ना गुरुलाई सम्मान गर्दै माला, टीका, मिष्ठान्न तथा विभिन्न उपहार अर्पण गर्ने चलन छ। नेपाली समाजमा गुरुको स्थान आमा–बुबासरह मानिने भएकाले यो पर्वले गुरु–शिष्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।
गुरुपूर्णिमाका अवसरमा देशभरका विद्यालय, कलेज तथा विभिन्न शैक्षिक एवं सामाजिक संस्थाले विशेष कार्यक्रम आयोजना गरी गुरुजनप्रति श्रद्धा व्यक्त गरेका छन्। कतिपय स्थानमा सम्मान समारोह, सांस्कृतिक कार्यक्रम तथा प्रवचनसमेत आयोजना गरिएको छ।
संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुने धार्मिक ग्रन्थहरूमा उल्लेख छ। ज्ञानरूपी प्रकाशद्वारा अज्ञानरूपी अन्धकार हटाउने व्यक्तिलाई ‘गुरु’ भनिने धार्मिक मान्यता छ। त्यसैले गुरुपूर्णिमा केवल धार्मिक पर्व मात्र नभई ज्ञान, संस्कार र शिक्षाप्रतिको सम्मान व्यक्त गर्ने अवसरका रूपमा समेत लिइन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर…





