सडकमा कुकुर आतंक, असुरक्षित बन्दै घरआँगनमा खेल्ने बालबालिका


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित




पोखराका सडक तथा वस्तीमा भुस्याहा कुकुरको संख्या र उपद्रो बढ्दै जाँदा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ ।

घरछेउमा खेलिरहेका बालबालिका समेत कुकुरको आक्रमणबाट असुरक्षित हुन थालेका छन् । यसको पछिल्लो उदाहरण पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकमा देखिएको छ । घरनजिकै खेलिरहेका पाँच बर्षीय बालक विकित तामाङमाथि एक्कासी कुकुरले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् । कुकुरको आक्रमणबाट बालकको दायाँतर्फ टाउको र कानमा गहिरो चोट लागेको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।घाउ गहिरो छ, कुकुरले टोकेको ठाउमा टाँका लगाउन नमिल्ने अस्पतालले जनाएको छ । घाउ सफा गरी औषधि प्रयोग गरेर उपचार गरिएको र घाउमा सिलाउनुको सट्टा टेप टासेर उपचार गरिने अस्पतालले जनाएको घाईते बालककी आमा सुजना तामाङले जानकारी दिईन् ।

स्थानीयका अनुसार बाबु खेली रहेको थियो कालो रङको कुकुर आएर टोक्न सुरु गरेको र कराएपछि भागेको हो, यदी समयमा हारगुहार नपाएको भए कुकुरले बालकको ज्यानै समेत लिन सक्ने थियो । पछिल्लो समय पोखराका बजार क्षेत्रदेखि आवासीय वस्तीसम्म भुस्याहा कुकुरको बिगबिगी बढ्दै गएको स्थानीयको गुनासो छ । सडकमा हिँड्ने सर्वसाधार, बालबालिका तथा सवारी साधनलाई समेत कुकुरले आक्रमण गर्ने र लखेट्ने गर्दा जुनसुकै बेला दुर्घटना हुन सक्ने स्थानीय डिलमाया कार्की बताउँछिन ।उनका अनुसार सडकमा छाडिएका भुस्याहा कुकुर मात्र होइन, घरपालुवा कुकुरलाई समेत जथाभावी सडकमा घुमाउने प्रवृत्तिले समस्या थपिएको छ ।

कुकुर पाल्ने र सडक र अर्काको घरको गेटमा लगेर दिशा गराउने तथा भुस्याहा कुकुरले सडकमा दिसापिसाव गर्दा दुर्गन्ध पैmलिनुका साथै सर्वसाधारणलाई असहज भइरहेको छ । स्थानीयले घरपालुवा कुकुरको उचित व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित घरधनीले लिनुपर्ने र सडकमा रहेका भुस्याहा कुकुरको व्यवस्थापन महानगरपालिकाले गर्नुपर्ने पोखरेलीको सामूहिक माग गर्दै आएका छन् ।बिशेषगरी पाँच बर्षका बालक घरछेउमा खेलिरहेका बेला कुकुरको आक्रमणमा पर्नुले बालबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ । बालबालिका खेल्ने ठाउँ, विद्यालय परिसर, सडक तथा सार्वजनिक स्थानमा कुकुरको जोखिम बढ्दै जानु सामान्य विषय होईन ।कुकुरको आक्रमणबाट बालबालिका घाइते भएपछि उपचार गराउने मात्र नभई यस्ता घटना दोहोरीन नदिन दीर्घकालीन उपाय आवश्यक देखिएको छ ।

भुस्याहा कुकुरको मानवीय व्यवस्थापन, बन्ध्याकरण, खोप तथा नियमित निगरानीलाई प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग रहेको छ । बालबालिकाले घर आँगनमै निर्धक्क खेल्न पाउने वातावरण निर्माण गर्नु स्थानीय सरकारको पनि महत्वपूर्ण दायित्व हो । त्यसैले सम्भावित दुर्घटनाको प्रतीक्षा नगरी पोखरा महानगरपालिकाले तत्कालै सडकमा रेहका कुकुर नियन्त्रण र घरपालुवा कुकुर व्यवस्थापनमा प्रभावकारी कदम चाल्न आवश्यक देखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।