सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा हाइकिङ हुने


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०८३ मा प्रकाशित




पोखरा, २४ साउन । सहारा फुटबल एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको छ।

पोखरा महानगरपालिका-९ को समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा हुने हाइकिङ स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित आयोजना गर्न लागिएको हो।

पोखरा–९ महेन्द्र पुलस्थित फल्चाबाट शनिबार बिहान करिब ७ बजे हाइकिङ सुरु भएर पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्ने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए। प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले भने।

हाइकिङमा सहभागी हुन प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ। शुल्कमा सहभागीलाई टी–सर्ट, खाजा र खाना उपलब्ध गराइने क्लबले जनाएको छ।

हाइकिङबाट संकलित रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगमा प्रयोग गरिने पूर्वअध्यक्ष विक्रम थकालीले बताए। एकेडेमीमा हाल पोखरा–१७ दोबिल्लास्थित एकेडेमीमा विभिन्न १६ जिल्लाका ३० जना बालक आबद्ध भएर फुटबल प्रशिक्षण लिइरहेका छन्।

कार्यक्रममा हालसम्म करिब १ सय ५० जनाले नाम दर्ता गरिसकेको कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङले बताए। थप सहभागीलाई समेट्ने तयारी भइरहेको र करिब ३ सय जनासम्म सहभागी गराउने लक्ष्य रहेको उनले भने।

अभियानलाई सफल बनाउन पोखरा महानगरपालिका–९ ले २ लाख रुपैयाँ, तमु धिँ यूकेले २ लाख, कास्की जिल्ला फुटबल संघले ५० हजार, सहारा क्लबका मानार्थ सदस्य तथा सहारा यूकेका पूर्वअध्यक्ष एमबीई दीपीलकुमार गुरुङले २५ हजार, सहारा यूकेका निवर्तमान अध्यक्ष कृष्णकुमार गुरुङले १० हजार र क्लबका आजीवन सदस्य मनोज गुरुङले १० हजार रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ।

तमु धिँ यूकेका अध्यक्ष जुमकाजी गुरुङले कठिन परिस्थिति र विपन्न वर्गका लागि निःस्वार्थ भावले सञ्चालन गरिएको सहारा एकेडेमीको सहयोगार्थ हाइकिङ आयोजना भएकाले आफ्नो संस्थाले सहयोग गरेको बताए। रोजगारका सिलसिलामा विदेशमा रहे पनि स्वदेशप्रतिको माया र सद्भाव सधैँ रहने भन्दै विगतदेखि सामाजिक कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने उनले भने।

कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष उज्ज्वल रञ्जितले सहारा क्लबले फुटबलको विकाससँगै सामाजिक क्षेत्रमा समेत निरन्तर काम गर्दै आएको बताए। क्लबको कामलाई प्रोत्साहन गर्न सहयोग गरिएको भन्दै उनले हाइकिङमा खेलकुदकर्मीलाई सहभागी हुन आग्रह गरे।

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले स्वास्थ्यसँगै सामाजिक सेवाको सन्देश दिन हाइकिङ आयोजना गरिएको बताए। “मानव जीवनमा स्वास्थ्य अत्यन्त महत्वपूर्ण विषय हो। कम्तीमा एक दिन भए पनि शारीरिक व्यायाम गरौँ भन्ने सन्देश दिनुका साथै सामाजिक सेवामा योगदान गर्ने उद्देश्यले हाइकिङ आयोजना गरिएको हो,” उनले भने।

हाइकिङले पोखराका पर्यटकीय तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धनसँगै स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने र सामाजिक सेवामा नागरिकको सहभागिता बढाउने अपेक्षा गरिएको क्लबले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।