माया गुरुङ सांगीतिक साँझ सफल बनाउन लमजुङका संघसंस्थाको प्रतिबद्धता


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०८३ मा प्रकाशित




लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक साँझ–२०८३’ लाई सफल बनाउन जिल्लाका विभिन्न संघसंस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको आयोजनामा हुने सांगीतिक साँझबारे शनिबार आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधिले कार्यक्रमलाई जिल्लाकै साझा सांस्कृतिक अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बेँसीशहर नगरपालिका–२ का वडाध्यक्ष मदनबहादुर राना, वडा नं. ८ का वडाध्यक्ष पवित्रा थापा राना, नगर कार्यपालिका सदस्य कल्पना थापा बोहरा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समिति लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछाने, ठाडो भाका लोक कला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाडीलगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङका सचिव गणेश गुरुङ, नेपाल तामाङ घेदुङ बेँसीशहरका अध्यक्ष होमलाल तामाङ, महिला घेदुङकी अध्यक्ष हसमाया तामाङ, नगर महिला सञ्जाल बेँसीशहरकी अध्यक्ष मीना बस्नेत रावल, महिला सञ्जाल वडा नं. १० की अध्यक्ष सूर्यकला थापा, तमु कल्याण समाज आमा समूहकी अध्यक्ष खिमा गुरुङ, प्रकृति नारी समाजकी पूर्वअध्यक्ष कमला केसी, फूलबारी दिदीबैनी समूहकी अध्यक्ष खातुन मियालगायतको सहभागिता थियो । कार्यक्रम संयोजक अनुज अधिकारीले सांगीतिक साँझको उद्देश्य, तयारी र अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी लमजुङको कला, संस्कृति र मौलिकताको उत्सवका रुपमा अघि बढाउन लागिएको बताए ।

वि.सं. २०२० असार २९ गते लमजुङको बेँसीशहर नगरपालिका–५, नाल्मामा जन्मिएकी वरिष्ठ लोकगायिका माया गुरुङको वास्तविक नाम देवीमाया थापा गुरुङ हो । वि.सं. २०४० को दशकदेखि नेपाली लोकसंगीतमा निरन्तर योगदान दिँदै आएकी गुरुङ ‘गाउँशहरमा लमजुङ दरबार’ लगायतका गीतमार्फत राष्ट्रियस्तरमा परिचित छिन् । ‘सैलुङ डाँडा’, ‘डाँडैको देवी देउराली’, ‘दूधको भारा’, ‘सम्झनालाई जाले रुमाल’, ‘नाल्मा डाँडा गाउँ’, ‘फलेसाँघु बजार’, ‘आइदेउ सुखी–लाइदेउ पिरती’, खोली रसायोलगायत उनका गीत लोकप्रिय छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।